काठमाडौं । नेपालमा जारी "एओटिसीए अन्तर्राष्ट्रिय कर सम्मेलन, २०२५" मा धारणा राख्ने वक्ताहरुले नेपालको कर प्रशासन सुधारका लागि एआई महत्वपूर्ण औजार हुनसक्ने बताएका छन् ।
सोल्टी होटलमा जारी AOTCA International Tax Conference, 2025 चिनियाँ कर विशेषज्ञले प्रस्तुत गरेको कार्यपत्रमा धारणा राख्ने विज्ञहरुले नेपालको कर प्रशासन सुधारका लागि एआई महत्वपूर्ण औजार हुनसक्ने धारणा राखेका हुन् ।
नेपालको तर्फबाट नेपाल चेम्बर अफ ट्याक्स कन्सल्ट्यान्ट (NCTC)का उपाध्यक्ष लेखनाथ शर्मा पंगेनीले चिनिया विज्ञको कार्यपत्रमाथि धारणा राख्दै नेपालको कर प्रणालीमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ ? नीतिगत तयारी कसरी गर्ने ? कर प्रशासनको क्षमता कसरी वृद्धि गर्ने ? अदालति मुद्दाहरु परेका छन् कि छैनन् ? तथ्याङ्कको विश्वसनियता कति छ ? लगायतका जिज्ञासा राखेका थिए ।
जवाफमा चिनियाँ कर विशेषज्ञले चीनमा अहिलेसम्म कुनै अदालती मुद्दा नपरेको, तथ्याङ्कहरु विवादरहित रहेको तर दक्षिणा कोरियामा भने अदालती मुद्दा परेको बताएका थिए । छिटो छरितो तथा विश्वनीय र विवादरहित कर प्रशासनका लागि नेपालमा पनि नीति बनाएर एआई प्रयोग गर्न सकिने पनि उनले बताएका थिए ।
उक्त कार्यपत्रमा भएको छलफलमा विश्वका अन्य देशका कर विज्ञहरुले पनि आफ्नो देशको कर प्रणालीमा एआईको प्रयोग बढ्दोक्रममा रहेको र नेपालमा पनि त्यो उपयुक्त हुनसक्ने धारणा राखेका थिए ।
काठमाडौंमा जारी कर सम्मेलनमा ३०० भन्दा धेरै विदेशी र २०० बढी नेपाली कर विज्ञहरुको सहभागीता रहेको छ ।
सम्मेलनको अन्त्यमा काठमाडौं घोषणापत्र जारी गर्दै करका चार वटा नयाँ सिद्धान्तहरु सार्वजनिक गरिनेछन् ।


