ब्रासिलिया। ब्राजिलको तल्लो सदनले निरन्तर कर नतिर्ने वा कर छलि गर्ने बानी परेका करदातामाथि कडा नियम लगाउने उद्देश्यले विधेयक पारित गरेको छ। यो विधेयक मनिलाउन्ड्रिङ गतिविधिमा संलग्न कम्पनीहरूले दुरुपयोग गर्ने अभ्यासलाई रोक्ने लक्ष्य राखेको छ।
मंगलबार पारित यो विधेयकलाई अर्थमन्त्री फर्नान्डो हादादले संगठित अपराधविरुद्धको अत्यावश्यक हतियार भनेका छन्। यो प्रस्ताव सेप्टेम्बरमै सिनेटबाट पारित भइसकेकाले अब राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको हस्ताक्षरपछि कानुन बन्नेछ।
लुला प्रशासनका अनुसार, अहिलेका कानुनी कमजोरीले बारम्बार कर नतिर्ने कम्पनीहरूलाई निरन्तर सञ्चालनमा रहन सहयोग गरिरहेको छ। यही खालका कमजोरी बन्द गर्न यो विधेयक महत्वपूर्ण कदम भएको सरकारको धारणा छ।
यो प्रस्तावको गति तब बढ्यो जब संघीय प्रहरीले पछिल्ला छापाहरूमा इन्धन क्षेत्रसँग सम्बन्धित अर्बौँ डलरको कालो धन सेतो पार्ने र ठगी प्रकरण फेला पारे। तीमध्ये रिफाइनरी ‘रेफिट’ पनि पर्छ, जुन देशकै सबैभन्दा धेरै कर बक्यौता भएका करदातामध्ये एक हो र जसले मात्र ४.९ अर्ब डलरभन्दा बढी तिर्न बाँकी छ।
विधेयकले ‘बानी परेका कर कानुन उल्लंघनकर्ता’ (habitual tax debtor) लाई न्यायोचित कारण बिना १.५ करोड रियाइस (२.७६ मिलियन डलर) भन्दा बढी कर बक्यौता र घोषित सम्पत्तिभन्दा शत प्रतिशत भन्दा बढी ऋण भएका कम्पनीका रूपमा परिभाषित गरेको छ।
यस्ता कम्पनीहरूले अब कर छुट वा प्रोत्साहन पाउनेछैनन् भने सरकारी ठेक्कामा सहभागी हुन पाउने छैनन्। त्यस्तै, बैंक क्रप्सी प्रोटेक्सन लगायतका अन्य कडा प्रतिबन्ध सामना गर्नुपर्नेछ।


