पाँच महिनामा विकास खर्च आठ प्रतिशतमै सीमित, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

पाँच महिनामा विकास खर्च आठ प्रतिशतमै सीमित, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

ट्याक्स खबर
मंगलवार, पौष १ २०८२
ट्याक्स खबर
मंगलवार, पौष १ २०८२
  • images

    काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको पुँजीगत खर्च अपेक्षाअनुसार हुन सकेको छैन । मङ्सिर मसान्तसम्ममा सरकारले कुल पुँजीगत बजेटको आठ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार मङ्सिर मसान्तसम्म पुँजीगत शीर्षकमा रु ३३ अर्ब ८७ करोड ४३ लाख खर्च भएको छ । चालु आर्थिक वर्षका लागि यस शीर्षकमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख बजेट विनियोजन गरिएको थियो ।

    चालु खर्चतर्फ वार्षिक रु ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन रहेकामा हालसम्म ३३ दशमलव सात प्रतिशत अर्थात् रु तीन खर्ब ९८ अर्ब चार करोड ७२ लाख खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा विनियोजित रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाखमध्ये ३५ दशमलव ३२ प्रतिशत अर्थात् रु एक खर्ब ३२ अर्ब ५३ करोड ९७ लाख खर्च भएको छ ।

    यसरी मङ्सिर मसान्तसम्म सरकारको कुल खर्च वार्षिक विनियोजनको २८ दशमलव ७४ प्रतिशत पुगेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल रु १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा हालसम्म रु पाँच खर्ब ६४ अर्ब ४६ करोड १२ लाख खर्च भएको छ ।

    बजेट खर्चसँगै राजस्व सङ्कलन पनि कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि रु १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य लिएको सरकारले पाँच महिनामा लक्ष्यको २७ प्रतिशत अर्थात् रु चार खर्ब १४ अर्ब ९० करोड मात्रै सङ्कलन गर्न सकेको छ । मङ्सिर मसान्तसम्म रु पाँच खर्ब २० अर्ब ४४ करोड राजस्व उठाउने लक्ष्य रहेकामा प्राप्ति ७८ दशमलव ७४ प्रतिशतमा सीमित भएको छ ।

    मङ्सिर महिनामा मात्र रु ९५ अर्ब २० करोड कर उठाउने लक्ष्य राखिएकोमा ८४ दशमलव ३१ प्रतिशत अर्थात् रु ८० अर्ब २७ करोड बराबर मात्रै असुली भएको छ । हालसम्म कर राजस्वतर्फ वार्षिक लक्ष्यको २८ दशमलव ८३ प्रतिशत अर्थात् रु तीन खर्ब ८२ अर्ब २३ करोड र गैरकर राजस्वतर्फ १५ दशमलव ५९ प्रतिशत अर्थात् रु २४ अर्ब सात करोड सङ्कलन भएको छ ।

    यसैगरी, यसवर्ष रु ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान लिने लक्ष्य रहेकामा हालसम्म नौ दशमलव ५८ प्रतिशत अर्थात् रु पाँच अर्ब १२ करोड १० लाख मात्रै प्राप्त भएको छ ।

    सरकारको आम्दानी र खर्चको अवस्था हेर्दा हालसम्म बजेट घाटा झण्डै डेढ खर्ब रुपैयाँ पुगेको छ । आम्दानीभन्दा खर्च रु एक खर्ब ४९ अर्ब ५५ करोड ८५ लाखले बढी रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend