पाटन। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले पछिल्लो तीन महिनामा मुलुकको अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले हालैका तथ्याङ्कले अर्थतन्त्रमा सुधारको संकेत देखाएको बताएका हुन।
युवापुस्ता जेनजीको आन्दोलनपछिका तीन महिनामा अर्थतन्त्रमा पुनरुत्थानको क्रम सुरु भएको उल्लेख गर्दै उनले यस अवधिमा करिब १० प्रतिशतले राजस्व वृद्धि भएको जानकारी दिए ।
“पछिल्ला तीन महिनामा करिब १० प्रतिशतको हाराहारीमा राजस्व बढेको छ । उत्पादन र उत्पादकत्वमा सुधार देखिएको छ । अन्तरिम सरकारले छोटो अवधिमै लगानीको वातावरण सुधार गरेको भन्दै चिनियाँ लगानीकर्ताले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्,” मन्त्री खनालले भने ।
उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधान, तरलता व्यवस्थापन तथा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले दीर्घकालीन विकासका लागि दिगो पूर्वाधार निर्माणमा जोड दिँदै उनले सरकारलाई ठूलो खर्च गर्नसक्ने वातावरण तयार गर्न राष्ट्र बैंक तत्पर रहेको बताए ।
गभर्नर पौडेलले निजी क्षेत्रलाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्दै निष्पक्ष र विश्वसनीय निर्वाचनले राजनीतिक स्थायित्व कायम हुने विश्वास व्यक्त गरे ।


