राँझा (बाँके)। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा रु ७ अर्ब ६५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार चालु आवको पाँच महिनामा कुल रु ७ अर्ब ६५ करोड १९ लाख ९० हजार राजस्व सङ्कलन भएको छ। यद्यपि, चालु आवको हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य भने हासिल हुन सकेको छैन।
साउन महिनामा रु १ अर्ब ८६ करोड ६५ लाख ४६ हजारको लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् रु १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार राजस्व उठेको छ। भदौमा रु १ अर्ब ९३ करोड ६४ हजार ५४ को लक्ष्यमा ६९.७७ प्रतिशत अर्थात् रु १ अर्ब ३५ करोड १० लाख ९ हजार सङ्कलन भएको छ।
त्यस्तै, असोजमा रु १ अर्ब ९८ करोड ३१ लाख ३० हजारको लक्ष्यमा ८७.८३ प्रतिशत अर्थात् रु १ अर्ब ७४ करोड १६ लाख ५ हजार, कात्तिकमा रु २ अर्ब १२ करोड ६१ लाख ३० हजारको लक्ष्यमा ७२.३० प्रतिशत अर्थात् रु १ अर्ब ५३ करोड ७० लाख ८२ हजार र मङ्सिरमा रु १ अर्ब ९६ करोड ३६ लाख १४ हजारको लक्ष्यमा ८३.४५ प्रतिशत अर्थात् रु १ अर्ब ६३ करोड ८५ लाख १० हजार राजस्व सङ्कलन भएको छ।
कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत र मङ्सिरमा ७६.२७ प्रतिशत राजस्व सङ्कलन भएको थियो।
नेपालगन्ज नाकाबाट चालु आवको पाँच महिनामा रु ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ। मङ्सिर मसान्तसम्म कुल रु ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार बराबरको वस्तु आयात भएको हो। अघिल्लो आवको सोही अवधिमा रु २९ अर्ब ८ करोड ४५ लाख ४४ हजार बराबरको मालसामान आयात भएको थियो।
त्यसैगरी, चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयबाट रु १ अर्ब १ करोड ६३ लाख ८९ हजार बराबरको मालसामान निर्यात भएको छ। अघिल्लो आवको सोही अवधिमा रु ८८ करोड ६८ लाख ८२ हजार बराबरको निर्यात भएको थियो।
चालु आवको पाँच महिनामा नेपालगन्ज भन्सार कार्यालयमार्फत कुल रु ३१ अर्ब ६८ करोड ५३ लाख ७९ हजार बराबरको कारोबार भएको छ। अघिल्लो आवको सोही अवधिमा यो कारोबार रु २९ अर्ब ९७ करोड १४ लाख २६ हजार बराबरको रहेको थियो।
कार्यलयका अनुसार अघिल्लो आव र चालु आवको पाँच महिनामा व्यापार घाटाको अवस्था लगभग उस्तै छ। अघिल्लो आवको पाँच महिनामा ९७ प्रतिशत रहेको व्यापार घाटा चालु आवमा ९६.६८ प्रतिशत रहेको छ।
महीनाअनुसार राजस्व लक्ष्य हासिल प्रतिशत (तुलनात्मक)
| महीना | अघिल्लो आव २०८१/८२ (%) | चालु आव २०८२/८३ (%) | अन्तर (± प्रतिशत बिन्दु) |
|---|---|---|---|
| साउन | ७३.६७ | ७४.१४ | +०.४७ |
| भदौ | ६६.६२ | ६९.७७ | +३.१५ |
| असोज | ६६.९१ | ८७.८३ | +२०.९२ |
| कात्तिक | ७६.४४ | ७२.३० | −४.१४ |
| मङ्सिर | ७६.२७ | ८३.४५ | +७.१८ |


