काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन्।
बिहीबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) का मुख्य प्राथमिकताबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन्। बजेट प्रस्तुत गर्नुअघि राष्ट्रप्रमुखलाई यसको नीति, कार्यक्रम र आकारबारे पूर्वजानकारी गराउने स्थापित परम्पराअनुसार उक्त भेटघाट भएको हो।
भेटका क्रममा अर्थमन्त्री डा वाग्लेले हालै संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण ०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदनसमेत राष्ट्रपति पौडेलसमक्ष हस्तान्तरण गरे। सो अवसरमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था सुधार्ने गरी बजेट आउने विश्वास व्यक्त गरे।
भोलि अपराह्न ४ बजे बजेट भाषण
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगिसकेको छ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोलि शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।
संविधानमा नै हरेक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेबमोजिम सरकारले शुक्रबार बजेट ल्याउन लागेको हो। यस बजेटले देशको आर्थिक शिथिलता चिर्दै उत्पादन र रोजगारी वृद्धिमा जोड दिने अपेक्षा गरिएको छ।


