काठमाडौँ । सरकारले सेयर बजार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरमा वृद्धि गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्नुभएको आर्थिक विधेयक मार्फत यो करको दर बढाएका हुन्।
बजेट भाषणका क्रममा अर्थमन्त्रीले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर हुने घोषणा गरे पनि आर्थिक विधेयकमा भने करको दर नै बढाउने व्यवस्था ल्याएका हुन्।
नयाँ व्यवस्था अनुसार अब सेयर बजारका अल्पकालीन लगानीकर्ता (१ वर्षभन्दा कम समय सेयर होल्ड गर्ने) ले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि अल्पकालीन लगानीकर्ताका लागि यो करको दर साढे ७ प्रतिशत मात्र थियो।
त्यसैगरी, १ वर्षभन्दा बढी समय सेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताको हकमा पनि करको दर बढाइएको छ। यसअघि ५ प्रतिशत रहेको दीर्घकालीन पुँजीगत लाभकरलाई बढाएर अब ७.५ प्रतिशत पुर्याइएको छ।
घरजग्गा कारोबार पनि महँगो बन्दै
सरकारले सेयर बजारसँगै घरजग्गा क्षेत्रको पुँजीगत लाभकरमा पनि वृद्धि गरेको छ। अबदेखि घरजग्गा बिक्री गर्दा भएको नाफा (लाभ) मा सर्वसाधारणले साढे ७ प्रतिशत पुँजीगत लाभकर बुझाउनुपर्नेछ। यसअघि घरजग्गा कारोबारमा ५ प्रतिशत मात्र पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो।
बजेटको यो नयाँ व्यवस्थाले सेयर बजारका अल्पकालीन कारोबारी र घरजग्गा व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ भने राजस्व संकलनमा वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ।


