काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर बजारमा लाग्ने पूँजीगत लाभकर बढाएपछि आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिलो कारोबार हुँदैछ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत शुक्रबार प्रस्तुत बजेटमार्फत धितोपत्र कारोबारमा लाग्ने पूँजीगत लाभकरको दर वृद्धि गरेका हुन्।
नयाँ व्यवस्थाअनुसार अल्पकालीन लगानीकर्ताले अब १० प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि अल्पकालीन लगानीकर्ताका लागि ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताका लागि ५ प्रतिशत करको व्यवस्था थियो।
कर वृद्धि भएपछि सेयर लगानीकर्ताहरूमा प्रारम्भिक असन्तुष्टि देखिए पनि सरकारले उक्त करलाई अन्तिम (फाइनल) करका रूपमा स्पष्ट पारेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले सेयर कारोबारबाट प्राप्त आम्दानीमा लाग्ने कर अन्तिम नै रहने र यस विषयमा अनावश्यक भ्रम फैलाइएको बताएका थिए। उनले बजारमा चर्चा गरिएको ४० लाख रुपैयाँको सीमा तथा अन्य आम्दानीसँग सम्बन्धित विषयले सेयर कारोबारबाट प्राप्त लाभमा असर नपार्ने स्पष्ट पारे।
कर वृद्धिको घोषणाबीच पनि गत साता नेप्से परिसूचक सकारात्मक अवस्थामा बन्द भएको थियो। बिहीबार सम्पन्न अन्तिम कारोबारमा नेप्से ४.९९ अंक अर्थात् ०.१७ प्रतिशतले बढेर २७८२.१० विन्दुमा पुगेको थियो।
गत साता सार्वजनिक बिदाका कारण बजार केवल तीन दिन मात्र खुलेको थियो। तीमध्ये दुई कारोबार दिन बजार बढेको थियो भने एक दिन सामान्य गिरावट आएको थियो। यसले लगानीकर्ताको मनोबल अझै सकारात्मक रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।
यो साता बजार कस्तो रहला?
बजार विश्लेषकहरूका अनुसार पूँजीगत लाभकर वृद्धि छोटो अवधिमा मनोवैज्ञानिक दबाबको कारण बन्न सक्छ। विशेषगरी अल्पकालीन कारोबार गर्ने लगानीकर्ताहरूले नाफा बुकिङ बढाउन सक्ने सम्भावना छ। तर सरकारले करलाई अन्तिम करका रूपमा स्पष्ट गरेकाले प्रारम्भिक अन्योल केही हदसम्म हटेको देखिन्छ।
अर्कोतर्फ, बैंकिङ प्रणालीमा रहेको पर्याप्त तरलता, घट्दो ब्याजदर, कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरण तथा आगामी मौद्रिक नीतिप्रतिको अपेक्षाले बजारलाई समर्थन गरिरहेकाले दीर्घकालीन रूपमा ठूलो नकारात्मक प्रभाव पर्ने सम्भावना कम रहेको जानकारहरू बताउँछन्।
आजको कारोबारले लगानीकर्ताले कर वृद्धिलाई कस्तो रूपमा लिएका छन् भन्ने संकेत दिनेछ। यदि बजारले कर वृद्धिको प्रभावलाई सहज रूपमा आत्मसात् गर्यो भने नेप्सेले २८०० विन्दु माथिको यात्रा पुनः प्रयास गर्न सक्नेछ। तर सुरुवाती चरणमा केही नाफा सुरक्षित गर्ने प्रवृत्ति बढेमा बजारमा सामान्य करेक्सन देखिन सक्ने अनुमान गरिएको छ।


