कर नीतिप्रति नाडाको आपत्तिः इन्धन गाडीसँगै इभी पनि महँगिने

कर नीतिप्रति नाडाको आपत्तिः इन्धन गाडीसँगै इभी पनि महँगिने

ट्याक्स खबर
शुक्रवार, जेठ २२ २०८३
ट्याक्स खबर
शुक्रवार, जेठ २२ २०८३
  • images

    काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत ल्याएको नयाँ कर नीतिका कारण नेपालमा सबै प्रकारका सवारी साधनको मूल्य बढ्ने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले बजेटको कर नीतिप्रति विशेष ध्यानाकर्षण गराउँदै नयाँ व्यवस्थाले अटोमोबाइल क्षेत्रमा अनपेक्षित आर्थिक भार थपिने जनाएको हो।

    बजेटले विशेषगरी विद्युतीय सवारी साधन (ईभी) को स्थापित मूल्यांकन प्रणालीलाई परिवर्तन गरेपछि व्यवसायीहरू चिन्तित बनेका छन्।

    यसअघि सरकारले मोटरको पिक पावरका आधारमा भन्सार महशुल दर कायम राख्दै आएकोमा आगामी आर्थिक वर्षदेखि कारोबार मूल्यको आधारमा महशुल लगाउने व्यवस्था गरेको छ।

    नाडाका अनुसार स्थिर कर नीतिको खडेरी र अतिरिक्त शीर्षकहरू मार्फत थपिने महशुलका कारण प्रायः सबै किसिमका सवारी साधनको मूल्य बढ्ने निश्चित देखिएको छ।

    सरकारले विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाए पनि त्यसको साटो स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। यसले गर्दा ईभी उपभोक्ताले सोचेजस्तो राहत नपाउने र इन्धन (पेट्रोल डिजेल) बाट चल्ने सवारी साधनको मूल्य समेत बढ्ने नाडाको विश्लेषण छ।

    ‘नेपाल विश्व व्यापार संगठनको सदस्य भएको दुई दशक भइसकेको र अल्पविकसित राष्ट्रबाट स्तरोन्नति भइरहेको सन्दर्भमा सरकारले थप कर वृद्धि नगर्ने हाम्रो न्यूनतम अपेक्षा थियो,’ नाडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर अव सवारी साधनहरूलाई मूल्यका आधारमा कर निर्धारण गर्ने र अतिरिक्त शीर्षकहरू मार्फत थप महशुल लगाउने निर्णय भएको देखिन्छ।’

    सवारी साधनको मूल्यमा स्थिरता कायम गर्नका लागि नाडाले सरकारलाई एक व्यावहारिक सुझाव समेत दिएको छ। नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको उतारचढावले बजार प्रभावित हुने भएकाले नेपाली रुपैयाँमा भन्दा डलरका आधारमा कर निर्धारण गर्नु बढी व्यावहारिक हुने नाडाको ठहर छ।

    सडक पूर्वाधारको ३ खर्बले भने आशा जगायो
    कर नीतिको आलोचना गरे पनि नाडाले बजेटको पूर्वाधार विकास सम्बन्धी पाटोलाई भने ऐतिहासिक र स्वागतयोग्य भनेको छ। नेपालको इतिहासमै पहिलोपटक सडक पूर्वाधार निर्माणका लागि झण्डै ३ खर्ब रुपैयाँ विनियोजन हुनु र अधुरा सडकहरू समयमै पूरा गर्ने सरकारको प्रतिबद्धताले अटोमोबाइल व्यवसायीहरू उत्साहित छन्।

    द्रुत गतिको सडक पूर्वाधार निर्माणले समग्र अटोमोबाइल व्यवसायलाई गतिशील बनाउने नाडाको अपेक्षा छ। कर नीतिका कारण बजेट केही महत्त्वाकांक्षी देखिए पनि यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र सन्तुलित र भविष्यनिर्माणमुखी हुने नाडाले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend