बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको सर्कूलर, नापी सेवाको भुक्तानी ‘मेरो कित्ता’बाटै गर्नू

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको सर्कूलर, नापी सेवाको भुक्तानी ‘मेरो कित्ता’बाटै गर्नू

ट्याक्स खबर
बुधवार, जेठ २७ २०८३
ट्याक्स खबर
बुधवार, जेठ २७ २०८३
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नापी कार्यालयबाट लिने सेवा तथा त्यससँग सम्बन्धित राजस्व भुक्तानीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा आबद्ध गराउन भनेको छ।

    केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका सबै बैंक तथा वित्तीय संस्थाहरूलाई ‘मेरो कित्ता’ प्रणालीमार्फत मात्र नापीसम्बन्धी सेवा लिन निर्देशन दिएको हो।

    नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट प्राप्त गर्ने जग्गाको नक्सा, फिल्डबुक तथा प्लट रजिष्टर प्रिन्ट अब ‘मेरो कित्ता’ प्रणालीमार्फत नै लिनुपर्नेछ। साथै, ती सेवासँग सम्बन्धित सबै प्रकारका राजस्व तथा दस्तुरहरू पनि अनिवार्य रूपमा सोही प्रणालीमार्फत अनलाइन भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले उक्त सुविधा प्रयोग गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई ‘मेरो कित्ता’ प्रणालीमा संस्थागत प्रयोगकर्ताका रूपमा दर्ता हुनुपर्ने प्रावधान समेत राखेको छ।

    केन्द्रीय बैंकका अनुसार यो व्यवस्थाले नापी कार्यालयबाट प्राप्त हुने सेवाहरूलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। विशेषगरी बैंकहरूले जग्गा धितो मूल्यांकन, कर्जा स्वीकृति तथा अन्य बैंकिङ प्रयोजनका लागि आवश्यक कागजात छिटो प्राप्त गर्न सक्नेछन्।

    राष्ट्र बैंकको यो कदमले बैंक तथा वित्तीय संस्थाहरूको सेवा प्रवाहलाई डिजिटल माध्यममा रूपान्तरण गर्दै प्रशासनिक झन्झट घटाउने विश्वास गरिएको छ। यसबाट कर्जा प्रवाह प्रक्रियामा गति आउने तथा सेवाग्राहीले समेत अप्रत्यक्ष रूपमा लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।

    के हो मेरो कित्ता?
    नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।

    एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्।

    यस्तै, ईसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।

    एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend