काठमाडौं । नेपालको निजी क्षेत्रका प्रमुख औद्योगिक समूहहरूमध्ये एक चौधरी ग्रुपले गत आर्थिक वर्ष २०८१-८२ मा नेपाल सरकारलाई करिब २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको जनाएको छ ।
समूहका ट्याक्स खबरलाई नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीका अनुसार यो रकम आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, अन्तःशुल्क तथा अन्य वैधानिक करहरू समेटिएको हो ।
उनका अनुसार, उक्त कर भुक्तानी नेपालको कुल कर संकलनमा उल्लेखनीय योगदान मानिएको छ। विभिन्न क्षेत्रमा उद्योग, उत्पादन, बैंकिङ, आतिथ्य, ऊर्जा, शिक्षा र सेवा क्षेत्रमा लगानी गर्दै आएको समूहले कर तिर्ने विषयलाई आफ्नो संस्थागत उत्तरदायित्वको महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको छ।
“राष्ट्रको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका लगानी र रोजगारी सिर्जनामा मात्र सीमित हुँदैन। समयमै कर तिर्नु पनि हाम्रो महत्वपूर्ण जिम्मेवारी हो।" चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले ट्याक्स खबरलाई बताएका छन् ।
यद्यपि, उनले चालु आर्थिक वर्ष २०८२-८३ मा समूहले सरकारलाई कति कर तिर्नेछ भन्ने विषयमा हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन तर केहि दिनमा थाहा हुने उल्लेख गरे । गतवर्षभन्दा बढी नै कर तिर्नेमा ढुक्क रहेको निर्देशक निर्माणको दाबी छ ।
वास्तवमा भन्ने हो भने चौधरी गु्रपको कर दायित्व चालु आर्थिक वर्षको कारोबार, नाफा, लगानी, कर नीति तथा आर्थिक गतिविधिका आधारमा निर्धारण हुने भएकाले अघिल्लो वर्षभन्दा कर रकम अवस्य बढी हुने उनले उल्लेख गरे ।
उनले भने, “चालु २०८२-०८३ र आगामी २०८३-०८४ वर्षमा कति कर तिर्छ भन्ने कुरा अनुमानभन्दा पनि वास्तविक वित्तीय नतिजा र कानुनी कर दायित्वमा निर्भर हुन्छ।“
सरकारले भने निजी क्षेत्रबाट हुने कर संकलनलाई राजस्वको प्रमुख स्रोतका रूपमा लिँदै करको दायरा विस्तार, पारदर्शिता र स्वैच्छिक कर सहभागितामा जोड दिँदै आएको छ।


