काठमाडौं। नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडमाथि लागू गरेको ‘शीघ्र सुधारात्मक कारवाही’ (प्रम्प्ट करेक्टिभ एक्शन-पीसीए) फुकुवा गर्ने निर्णय गरेको छ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडसँगको मर्जर प्रक्रिया पूरा भई एकीकृत कारोबार सुरु हुने मितिदेखि लागू हुने गरी उक्त कारवाही हटाइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार मर्जरपछि संस्थाको वित्तीय अवस्था सुधारिएको निष्कर्षसहित पीसीए फुकुवा गरिएको हो।
पुँजीकोष कमजोर भएपछि परेको थियो कारवाही
पोखरा फाइनान्सको २०८० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक गैरस्थलगत विवरणको सुपरिवेक्षकीय परीक्षणका क्रममा संस्थाको न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डभन्दा निकै कम रहेको भेटिएको थियो।
सोही आधारमा राष्ट्र बैंकले २०८१ माघ २३ गते ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४’ बमोजिम पोखरा फाइनान्सलाई पीसीएमा राखेको थियो।
मर्जरले सुधारियो वित्तीय अवस्था
पोखरा फाइनान्स र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच गाभ्नेरगाभिने प्रक्रियालाई राष्ट्र बैंकको सञ्चालक समितिले २०८३ वैशाख १७ गते अन्तिम स्वीकृति दिएको थियो। त्यसपछि तयार गरिएको संयुक्त वित्तीय विवरणले संस्थाको पुँजी आधारमा उल्लेख्य सुधार देखाएको राष्ट्र बैंकले जनाएको छ।
२०८३ वैशाख मसान्तको अपरिष्कृत वित्तीय विवरणअनुसार मर्जरपछिको संयुक्त संस्थाको प्राथमिक पुँजी ६.०६ प्रतिशत र कुल पुँजीकोष अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) १०.८० प्रतिशत रहने देखिएको छ।
यही सुधारलाई आधार मान्दै राष्ट्र बैंकको असार १० गते बसेको समितिको बैठकले पोखरा फाइनान्समाथिको शीघ्र सुधारात्मक कारवाही फुकुवा गर्ने निर्णय गरेको हो।
राष्ट्र बैंकले उक्त निर्णय समृद्धि फाइनान्ससँगको एकीकृत कारोबार औपचारिक रूपमा सुरु हुने दिनदेखि प्रभावकारी हुने स्पष्ट पारेको छ।
पीसीए फुकुवासँगै मर्जरपछिको संयुक्त संस्था नियामकीय व्यवस्थाअनुसार नियमित व्यावसायिक गतिविधि सञ्चालन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।


