काठमाडौं । नेपालमा अनलाइनबाट कारोबार हुने भएपछि भारतीय पर्यटकलाई सहज भएको छ । कारण अनलाइनबाट भुक्तानी सेवा उपलब्ध हुने भएकाले । नेपालमा भुक्तानीमा गरिएको सहजीकरण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डलर खर्च नगर्न आफ्ना नागरिकलाई गरेको आह्वानका कारण नेपालमा भारतीय पर्यटक बढेका छन्।
पछिल्लो समय काठमाडौंबाहिर पनि धेरैतिर भारतीय पर्यटकले भरिन थालेका छन्। प्रमुख पर्यटकीय सहर पोखरामा त भारतीयहरूको ठूलै संख्या पुग्ने गरेको छ। भारतीय पर्यटकको आगमनले गर्दा नेपालका होटल तथा रेष्टुरेन्टले पनि राम्रो व्यापार पाइरहेका छन्।
भारतीय बढ्नुको मुख्य कारण भुक्तानीमा सहजीकरण पनि हो। भारतीयहरूले घरेलु मुद्रामै नेपालमा खर्च गर्न पाउँछन्।
भारतीयहरूले नेपालमा आफ्नो वालेटबाट सिधै भुक्तानी गर्न सक्छन्। नेपालका होटल रेष्टुरेन्टदेखि सपिङ सेन्टरसम्म वालेटबाट सिधै क्वूआर गरेर भुक्तानी गर्न सक्छन्। यसले गर्दा धेरै युवाहरूलाई नेपाल आउन उत्प्रेरित गरिरहेको छ।
२५ हजार रुपैयाँसम्म भारतीयहरूले नेपालमा ल्याउन सक्ने भएपनि त्यसको प्रभावकारी कार्यान्वयन अझै भएको छैन। भारतले नेपालमा जान दिने तर फिर्ता ल्याउनका लागि बाटो नखोल्दा नेपालका होटलहरूले सयभन्दा माथिको नोट लिन सकिरहेका थिएनन्।
अनलाइन भुक्तानीको सुविधा भएपनि कतिपय अवस्थामा नगदको पनि उत्तिकै आवश्यकता पर्ने र शतप्रतिशत अनलाइनमै भर परेर हिँड्न सक्ने अवस्था अहिले पनि धेरैमा छैन। यही कारणले यात्रुको आत्मविश्वासका लागि पनि नगद अनिवार्य रहेको होटल व्यवसायीको भनाइ छ ।


