काठमाडौं। औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दुई हप्ताको अवधिमा कुल ४२ करोड ५४ लाख ३८ हजार बक्यौता रकम संकलन गरेको हो।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगहरूले विस २०४५ सालदेखि नै भाडा तिर्न बाँकी राखेका थिए। बक्यौता उठाउने प्रक्रिया अन्तर्गत केही दिनअघि मात्रै ६ सय ३५ उद्योग तथा कार्यालयहरूलाई भाडा तिर्न सार्वजनिक सूचना जारी गरिएको थियो। सूचना प्रकाशमा आएपछि अधिकांश उद्योगहरूले धमाधम आफ्नो बक्यौता चुक्ता गरिरहेका छन्।
अझै पनि भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। उनका अनुसार सुरुमै झन्डै २०० भन्दा बढी उद्योगको लाइन काटिएको थियो, जसमध्ये अधिकांशले भाडा तिरेपछि लाइन पुनः जोडिएको छ।
ठूला बक्यौतादार उद्योगहरू पनि कारबाहीको दायरामा
बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेजको करिब ३ करोड ६९ लाख र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेजको करिब १ करोड भाडा उठ्न बाँकी छ।
हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको छ।


