काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो अतिरिक्त तरलता व्यवस्थापनलाई तीव्र बनाएको छ।
मंगलबार ३५ अर्ब रुपैयाँको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (क) जारी गरेको केन्द्रीय बैंकले बुधबार फेरि ४५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (ख) बोलकबोलमार्फत निष्कासन गरेको छ। यससँगै राष्ट्र बैंकले लगातार दुई दिनमै बजारबाट कुल ८० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ।
राष्ट्र बैंकको यो कदमले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको वर्तमान अवस्थालाई संकेत गरेको छ। बैंकहरूमा निक्षेप लगातार बढिरहेको छ भने कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले प्रणालीमा ठूलो परिमाणमा निष्क्रिय रकम थुप्रिएको छ। यही अतिरिक्त तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत ऋणपत्र जारी गर्दै पैसा बजारबाट तानिरहेको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार ०८३ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। वार्षिक आधारमा निक्षेप १६ प्रतिशतले वृद्धि भएको छ।
यसको विपरीत निजी क्षेत्रमा प्रवाहित कर्जा भने ५८ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ पुगे पनि वार्षिक वृद्धि दर ६.७ प्रतिशतमा सीमित रहेको छ। निक्षेपको तुलनामा कर्जा विस्तार सुस्त रहँदा बैंकिङ प्रणालीमा लगानी हुन नसकेको ठूलो रकम थुप्रिएको देखिन्छ।
यही अवस्थाका कारण बैंकहरूले अन्तरबैंक बजारमा अत्यन्तै न्यून ब्याजदरमा रकम राखिरहेका छन् भने राष्ट्र बैंकले अतिरिक्त तरलता सोस्न नियमित रूपमा निक्षेप संकलन उपकरण र ऋणपत्र प्रयोग गर्दै आएको छ। पछिल्ला दुई दिनमा मात्रै ८० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नु पनि यही रणनीतिको निरन्तरता हो।
बुधबार जारी गरिएको ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्रका लागि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल हुनेछ। यसमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ।
ऋणपत्रको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा २०८४ असार १७ गते फिर्ता गरिनेछ। ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ र उक्त ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
राष्ट्र बैंकले बोलकबोलमा सहभागी संस्थाका लागि कडा व्यवस्था पनि गरेको छ। स्वीकृत भएको रकम निष्कासनकै दिन सम्बन्धित बैंकको खाताबाट कट्टा गरिनेछ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुनुका साथै २.५० प्रतिशत हर्जाना तिर्नुपर्ने र त्यस्ता संस्थालाई ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका कुनै पनि बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
किन पैसा तान्दै छ राष्ट्र बैंक?
अर्थतन्त्रमा सामान्यतया निक्षेप बढ्दै जाँदा त्यसअनुसार कर्जा पनि विस्तार हुनुपर्छ। तर पछिल्लो समय निजी क्षेत्रको लगानी र कर्जाको माग सुस्त रहेकाले बैंकहरूमा ठूलो परिमाणमा रकम निष्क्रिय बसेको छ।
यस्तो अतिरिक्त तरलताले बजार ब्याजदरमा अत्यधिक दबाब पार्न, मौद्रिक व्यवस्थापन कमजोर बनाउन तथा भविष्यमा मुद्रास्फीतिसम्बन्धी जोखिम बढाउन सक्ने भएकाले केन्द्रीय बैंकले खुला बजार कारोबारमार्फत रकम प्रशोचन गरिरहेको हो।
यसले राष्ट्र बैंकले अहिले अर्थतन्त्रमा पैसाको अभावभन्दा पनि अतिरिक्त तरलता व्यवस्थापनलाई प्राथमिकतामा राखेको स्पष्ट संकेत गरेको छ। निजी क्षेत्रको कर्जा माग उल्लेख्य रूपमा नबढेसम्म यस्ता मौद्रिक उपकरणमार्फत बजारबाट रकम तान्ने नीति आगामी दिनमा पनि निरन्तर रहने संकेत देखिएको छ।


