फेरि २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

फेरि २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

ट्याक्स खबर
सोमवार, आषाढ २२ २०८३
ट्याक्स खबर
सोमवार, आषाढ २२ २०८३
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले खुला बजार सञ्चालनअन्तर्गत एक वर्ष अवधिको २० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ बोलकबोलमार्फत जारी गर्ने भएको छ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिने जनाएको हो। सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने यसको साँवा भुक्तानी आज सोमबार हुनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

    यस ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछिका ५ करोड रुपैयाँका गुणकमा कुल २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्।

    राष्ट्र बैंकका अनुसार बोलकबोलमा प्राप्त ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म स्वीकृत गरिनेछ। अन्तिम स्वीकृत हुने बिन्दुमा कायम भएको दरलाई एकल ब्याजदर मानी सोही दरमा सफल सबै बोलदातालाई ऋणपत्र बिक्री गरिनेछ। एउटै ब्याजदरमा आह्वान रकमभन्दा बढी आवेदन परेमा समानुपातिक रूपमा बाँडफाँट गरिने व्यवस्था छ।

    यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर, लगानी गरिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

    राष्ट्र बैंकले सम्पूर्ण वा आंशिक बोल अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने स्पष्ट पारेको छ।

    यसअघि राष्ट्र बैंकले असार १९ गते २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गरेको थियो। त्यसको तीन दिनपछि पुनः २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न लागेको हो। लगातार ऋणपत्रमार्फत बजारबाट तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकको रणनीतिलाई यस कदमका रूपमा हेरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend