नबिलको साताव्यापी अभियानः  टोखामा एभोकाडोका बिरुवा रोपिए, दिगो बैंकिङमार्फत ३९ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण

नबिलको साताव्यापी अभियानः  टोखामा एभोकाडोका बिरुवा रोपिए, दिगो बैंकिङमार्फत ३९ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण

सोमवार, आषाढ २२ २०८३
सोमवार, आषाढ २२ २०८३
  • images

    काठमाडौँ। नबिल बैंकले काठमाडौँको टोखामा वृक्षारोपण गर्दै आफ्नो साताव्यापी अभियान नबिल ग्रिनवीक २०२६ को समापन गरेको छ। बैंकको दिगो बैंकिङ अभियानको पाँचौँ वार्षिकोत्सव तथा नबिल दिगो बचत खाताको अवसर पारेर गत असार १५ गतेदेखि यो विशेष साता मनाइएको हो।

    अभियानको अन्तिम दिन बैंकले लुम्बिनी वर्ल्ड पिस फोरम नेपाल र टोखा नगरपालिका-२ सँगको सहकार्यमा त्यहाँस्थित गले पार्कमा २०० वटा एभोकाडोका बिरुवा रोपेको छ। उत्पादित बिरुवाको संरक्षण र रेखदेख स्थानीय वडा कार्यालयले गर्ने गरी हस्तान्तरण गरिएको छ।

    वृक्षारोपण कार्यक्रममा टोखा-२ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली तथा स्थानीय बासिन्दाको उपस्थिति थियो। सिइओ ज्ञवालीले बिरुवा रोपेर मात्र नहुने, त्यसको संरक्षणमा स्थानीय समुदायको भूमिका महत्त्वपूर्ण हुने बताउँदै वातावरण र समुदायको आर्थिक स्तर बलियो बनाउन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।

    नबिल बैंकको दिगो बैंकिङ रणनीति मानिस, पृथ्वी र समृद्धिको अवधारणामा आधारित छ।

    ५ वर्षमा क्षेत्रगत हरित तथा सामाजिक लगानी गरेको छ। बैंकले विभिन्न दिगो एवं रोजगारीमूलक क्षेत्रहरूमा ठुलो वित्तीय लगानी गरेको जनाएको छ। जसअनुसार नवीकरणीय ऊर्जामा ५१ अर्ब ८३ करोड, कृषि क्षेत्रमा ५४ अर्ब २८ करोड, महिला तथा महिला उद्यमी वित्तपोषणमा ४८ अर्ब ६० करोड, सूक्ष्म, साना तथा मझौला उद्यममा ४५ अर्ब ७७ करोड, स्वच्छ यातायातमा १० अर्ब २८ करोड, पर्यटन क्षेत्रमा ११ अर्ब ८ करोड र डिडिएसएलमा कर्जा ५ अर्ब ८४ करोड गएको छ।

    यस लगानीमार्फत हालसम्म १ लाख १२ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ, जसमा ३१ प्रतिशत महिलाको सहभागिता रहेको छ।

    वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन प्रणाली लागू गरेको बैंकले डिजिटल बैंकिङ र हरित लगानीमार्फत पर्यावरणमा योगदान दिएको छ। नवीकरणीय ऊर्जामा गरिएको लगानीले ४ वर्षको अवधिमा करिब ३९ हजार ४५०.६८ टन कार्बन उत्सर्जन घटेको बैंकले जनाएको छ।

    त्यस्तै डिजिटाइजेसनको माध्यमबाट बैंकले विगत ५ वर्षमा २० टनभन्दा बढी कागज बचत गरेको छ। स्वचालित प्रणालीका कारण वार्षिक २ लाख ६२ हजार ८०४ लिटर पानी बचत भइरहेको बैंकको दाबी छ। 

    बैंकले विगत ५ वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend