काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै आगामी वर्ष ७ प्रतिशत आर्थिक वृद्धिको सरकारी लक्ष्यलाई सघाउने गरी 'सजगतापूर्वक लचिलो' मौद्रिक कार्यदिशालाई निरन्तरता दिएको छ।
राष्ट्र बैंकका अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ, विदेशी विनिमय सञ्चिति पर्याप्त र मुद्रास्फीति नियन्त्रणयोग्य अवस्थामा रहेकाले आर्थिक गतिविधि विस्तारलाई सहयोग गर्ने नीति लिइएको हो।
यस वर्षदेखि राष्ट्र बैंकले मौद्रिक नीति, वार्षिक समीक्षा प्रतिवेदन तथा समष्टिगत आर्थिक परिदृश्यलाई छुट्टाछुट्टै प्रतिवेदनका रूपमा सार्वजनिक गर्ने नयाँ अभ्यास पनि सुरु गरेको छ।
मौद्रिक नीतिले आगामी आर्थिक वर्षमा मुद्रास्फीति ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ। साथै कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम राख्ने लक्ष्य पनि यथावत् राखिएको छ।
नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई अन्तरिम लक्ष्यका रूपमा निरन्तरता दिइने तथा अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको हाराहारीमा राख्ने गरी खुला बजार कारोबार सञ्चालन गरिने राष्ट्र बैंकले जनाएको छ।


