काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणालीमा आधारित 'पियर टु पियर' ऋण प्रणाली सञ्चालनको सम्भावना अध्ययन गर्ने भएको छ।
मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थाका लागि जारी भएका निर्देशनहरूलाई पनि थप सरल, स्पष्ट र प्रयोगमैत्री बनाइनेछ।
पहिलो चरणमा कर्जा प्रवाह, ब्याजदर तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी निर्देशनहरू पुनर्लेखन गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक खर्च विस्तार, कर कटौती तथा आर्थिक सुधारका कार्यक्रमका कारण आगामी वर्ष आर्थिक गतिविधि बढ्दै जाँदा बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता क्रमशः उपयोग हुने अपेक्षा गरेको छ।
तर केही बैंक तथा वित्तीय संस्थामा बढ्दो निष्क्रिय कर्जा र पूँजीकोषमा परेको दबाबलाई ध्यानमा राख्दै सघन अनुगमन जारी रहने पनि स्पष्ट पारेको छ।
साथै, पर्याप्त तरलता हुँदाहुँदै पनि त्यसको लाभ अर्थतन्त्रले लिन नसके वा समष्टिगत आर्थिक स्थायित्वमा जोखिम देखिए मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरी ब्याजदर करिडोरलाई आवश्यकताअनुसार थप समायोजन गरिने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ।


