२० अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

२० अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

ट्याक्स खबर
बुधवार, आषाढ २४ २०८३
ट्याक्स खबर
बुधवार, आषाढ २४ २०८३
  • images

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै बुधबार नै बोलकबोलमार्फत ऋणपत्र निष्कासन गरिने जनाएको हो।

    राष्ट्र बैंकका अनुसार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘च’ नामक उक्त ऋणपत्रको बोलकबोल दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने यसको साँवा २०८४ असार २४ गते फिर्ता गरिनेछ।

    ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    यसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्रै सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि बढीमा आह्वान गरिएको कुल २० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकले ऋणपत्रलाई आफ्नो तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने जनाएको छ। यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने, तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था छ।

    राष्ट्र बैंकले स्वीकृत बोल रकम निष्कासनकै दिन सम्बन्धित बैंकको खाताबाट कट्टा गरिने जनाएको छ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुनुका साथै २।५ प्रतिशत हर्जाना र ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरका बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था पनि सूचनामा उल्लेख गरिएको छ।

    नेपाल राष्ट्र बैंकले पछिल्लो समय बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि नियमित रूपमा ऋणपत्र जारी गर्दै आएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend