मोबाइल एपबाटै बैंक खाता बन्द र पुनः सक्रिय गर्न मिल्ने, शाखामै पुग्नुपर्ने बाध्यता हट्याे

मोबाइल एपबाटै बैंक खाता बन्द र पुनः सक्रिय गर्न मिल्ने, शाखामै पुग्नुपर्ने बाध्यता हट्याे

ट्याक्स खबर
शनिवार, आषाढ २७ २०८३
ट्याक्स खबर
शनिवार, आषाढ २७ २०८३
  • images

    काठमाडौँ। अब बैंक खाता बन्द गर्न वा निष्क्रिय (डर्मेन्ट) खाता पुनः सक्रिय बनाउन अनिवार्य रूपमा सम्बन्धित शाखामै पुग्नुपर्ने व्यवस्था हटेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई मोबाइल बैंकिङ एप, वेबसाइट वा बैंकको जुनसुकै शाखाबाट यी सेवा लिन सकिने व्यवस्था गरेको छ।

    राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ बमोजिम कार्यकारी निर्देशक राम पौडेलद्वारा जारी निर्देशन तत्काल कार्यान्वयनमा ल्याउन भनिएको छ।

    नयाँ व्यवस्थाअनुसार ग्राहकले अब मोबाइल बैंकिङ एप, वेब एप्लिकेसन वा बैंकको जुनसुकै शाखाबाट खाता बन्द गर्न सक्नेछन्। खाता बन्द गर्दा त्यसमा रहेको बाँकी रकम ग्राहकले तोकेको अर्को बैंक खातामा रकमान्तर गरिदिनुपर्ने व्यवस्था गरिएको छ।

    त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका खाताहरू ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गरी देशभरका बैंकका जुनसुकै शाखाबाट पुनः सक्रिय गर्न सकिनेछ।

    राष्ट्र बैंकले बैंकहरूलाई निष्क्रिय खाताको संख्या घटाउन आगामी पुस मसान्तभित्र विशेष कार्ययोजना लागू गर्न पनि निर्देशन दिएको छ।

    निर्देशनअनुसार चालू खाता निष्क्रिय हुनुअघि बैंकहरूले फोन, एसएमएस वा इमेलमार्फत ग्राहकलाई जानकारी गराउनुपर्नेछ। निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकसँग सम्पर्क गरी त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।

    यस्तै, लामो समय निष्क्रिय रहेका खातामा अचानक हुने अस्वाभाविक कारोबारको निगरानीका लागि छुट्टै प्रणाली विकास गर्नुपर्ने तथा ुमनी म्यूलु लगायत वित्तीय अपराधबारे जनचेतना फैलाउने र कर्मचारीको क्षमता अभिवृद्धि गर्न पनि राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको छ।

    राष्ट्र बैंकद्वारा जारी निर्देशनका मुख्य बुँदा:

    कार्ययोजना निर्माण: बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना निष्कृय खाताहरू कम गर्न विशेष कार्ययोजना बनाई आगामी  पुस मसान्तभित्र अनिवार्य रूपमा लागू गर्नुपर्नेछ।

    पूर्वजानकारी दिनुपर्ने: कुनै पनि चालू खाता निष्कृय हुनुअघि बैंकहरूले ग्राहकलाई फोन कल, एसएमएस वा इमेलमार्फत नियमित रूपमा जानकारी गराउनुपर्नेछ।

    ६ महिनामा फलोअप: निष्कृय भइसकेका खाताहरूलाई पुनः सक्रिय गराउन बैंकहरूले कम्तीमा प्रत्येक ६ महिनाको अन्तरालमा ग्राहकलाई फोन, एसएमएस वा इमेलमार्फत अनुरोध गर्नुपर्नेछ र सोको अभिलेखसमेत राख्नुपर्नेछ।

    अस्वाभाविक कारोबारको निगरानी: लामो समय निष्कृय रहेर अचानक पुनः सञ्चालनमा आएका खाताहरूमा हुन सक्ने शङ्कास्पद वा अस्वाभाविक कारोबारको निगरानीका लागि बैंकहरूले छुट्टै प्रणाली विकास गर्नुपर्नेछ।

    वित्तीय अपराधविरुद्ध जनचेतना र क्षमता अभिवृद्धि: निष्कृय खाताहरूको दुरूपयोग गरी हुन सक्ने 'मनी म्यूल' (अर्काको खाता प्रयोग गरी अवैध रकम ओसारपसार गर्ने कार्य) र अन्य वित्तीय अपराधबारे बैंकहरूले नियमित रूपमा जनचेतनामूलक सामग्री प्रसारण गर्नुपर्नेछ। साथै, यस्ता क्रियाकलाप पहिचान र न्यूनीकरणका लागि आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend