काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ का इकाईधनीहरूलाई ३ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरिएको छ।
सिद्धार्थ बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको यस खुलामुखी योजनाको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण कार्य सम्पन्न भई शुक्रबार बसेको सञ्चालक समितिको २०६औँ बैठकले करसहित ३ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रतिफल प्राप्त गर्नका लागि शुक्रबारसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनीहरू मात्र योग्य हुने सिद्धार्थ क्यापिटलले जनाएको छ।
खुलामुखी योजना भएकाले लाभांश पुनः लगानी योजनामा दर्ता भएका इकाईधनीको हकमा प्राप्त प्रतिफल बराबरको रकम (कर तथा निर्धारित डिपि शुल्क कट्टा गरेपछि) समायोजन गरी कायम हुने खुद सम्पत्ति मूल्यमा पुनः लगानी गरिनेछ। यसरी प्राप्त हुने इकाई सम्बन्धित इकाईधनीको हितग्राही (डीम्याट) खातामा सोझै पठाइने व्यवस्था मिलाइएको छ।
यसैगरी, उक्त पुनः लगानी योजनामा सहभागी नभएका अन्य इकाईधनीहरूको नगद प्रतिफल रकम उनीहरूको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा गरिने क्यापिटलले जनाएको छ।


