काठमाडौं। सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी वैधानिक स्रोतले पुष्टि गर्न नसकिने २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको सम्पत्ति आर्जन गरेको निष्कर्षसहित आरोपपत्र दायर गरिएको हो।
आयोगले चौधरीको २०६५ पुस ११ गतेदेखि २०८२ असार २९ गतेसम्मको आर्थिक अवस्था विश्लेषण गरेको थियो। अनुसन्धानका क्रममा तलब, जग्गा बिक्री, घरबहाल, श्रीमतीको पारिश्रमिक, बैंक ऋण, कृषि आय, ब्याज आम्दानी, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण तथा बाबुको पेन्सनलगायत स्रोतबाट २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ ६ पैसा वैधानिक आम्दानी भएको देखिएको छ।
तर सोही अवधिमा जग्गा, घर, सवारीसाधन, सुन, शेयर, ट्र्याक्टर, फर्निचर, विद्युतीय उपकरण खरिद, घर निर्माण, बीमा, छोराछोरीको अध्ययन, विभिन्न लगानी, बैंक ऋण भुक्तानी तथा बैंक मौज्दातलगायत शीर्षकमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ ४२ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ।
आय र खर्चबीच २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा को अन्तर देखिएको र उक्त रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ। आयोगका अनुसार चौधरीले पेश गरेको सम्पत्ति विवरण वास्तविक अवस्थासँग नमिल्ने र अस्वाभाविक देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाइएको हो।
आयोगले चौधरीलाई भ्रष्टाचार निवारण ऐनको दफा २०(२) बमोजिम बिगो बराबर जरिवाना, कैद तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न माग गरेको छ। साथै वास्तविक सम्पत्ति लुकाईछिपाई झुट्टा विवरण पेश गरेको आरोपमा ऐनको दफा १६(२) अनुसार थप सजायको माग पनि गरिएको छ।
यस्तै, चौधरीकी श्रीमती अपर्ना कुमारीलाई पनि चौधरीले गैरकानुनी रूपमा आर्जन गरेको रकमबाट उनको नाममा खरिद तथा कायम गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।


