काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको नियमन कडा बनाउन तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। पछिल्लो सुपरिवेक्षणका क्रममा बैंकिङ निर्देशन र नियमन उल्लंघन गरेको पाइएपछि प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक कारबाहीमा परेका हुन्।
सबैभन्दा कडा कारबाही प्रभु बैंकमाथि भएको छ। बैंकमा कर्जा वर्गीकरणमा गम्भीर त्रुटि, पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा केन्द्रीय बैंकलाई वास्तविक अवस्थाभन्दा फरक विवरण बुझाएको पुष्टि भएपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।
राष्ट्र बैंकका अनुसार प्रभु बैंकले कोर बैंकिङ सिस्टमको तथ्यांक र नियामकलाई बुझाइएको विवरणबीच फरक देखिने गरी प्रतिवेदन पेश गरेको थियो। पटक–पटक निर्देशन दिँदा पनि सुधार नआएपछि बैंक सञ्चालक समितिसँग कबोलियतनामा गराई सुधारात्मक कार्ययोजना कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको छ।
उता, सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक भने खाता रोक्का तथा फुकुवासम्बन्धी कानुनी व्यवस्था पालना नगरेको विषयमा कारबाहीमा परेका छन्। राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ अनुसार समयमै खाता रोक्का नगरेको पाइएपछि पहिलो पटक सचेत गराइएको छ।
यस्तै, कृषि विकास बैंकले पनि कानुन कार्यान्वयन गर्ने निकायको अनुरोधअनुसार खाता रोक्का गर्न ढिलाइ गरेको भेटिएपछि भविष्यमा यस्ता त्रुटि नदोहोर्याउन निर्देशनसहित सचेत गराइएको छ।
राष्ट्र बैंकको पछिल्लो कदमले बैंकहरूले बुझाउने वित्तीय विवरणको विश्वसनीयता, कर्जा व्यवस्थापन र नियामकीय पालना अब थप कडाइका साथ अनुगमन हुने सन्देश दिएको छ। विशेषगरी प्रभु बैंक प्रकरणले बैंकका उच्च व्यवस्थापनलाई व्यक्तिगत रूपमा समेत जिम्मेवार ठहर्याउन सकिने स्पष्ट संकेत गरेको छ।


