काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको बिग्रँदो आर्थिक मनोविज्ञान सुधार्न र सुस्त बनेको अर्थतन्त्रलाई पुनः गति दिन बैंकिङ क्षेत्रलाई नेतृत्वदायी भूमिका खेल्न आह्वान गरेका छन्।
मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूसँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले वित्तीय प्रणालीको सुदृढीकरण र लगानी विस्तारका लागि सरकार र बैंकहरूबीच नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हुनुपर्नेमा जोड दिए।
वाग्लेले आजको छलफल सामान्य औपचारिक भेटघाट मात्र नभई अर्थतन्त्रलाई गतिशील बनाउने साझा अभियानको एउटा महत्त्वपूर्ण चरण भएको बताए। उत्पादन, लगानी, बचत र वित्तीय विश्वासको केन्द्रविन्दु बैंकिङ प्रणाली नै भएकाले बजारको वास्तविक मनोविज्ञान बैंकहरूले नै बढी महसुस गर्ने उनको भनाइ थियो।
अधिक तरलता र न्यून कर्जा मागमा चिन्ता
सम्बोधनका क्रममा अर्थमन्त्रीले वित्तीय क्षेत्रमा अहिले देखिएका केही गम्भीर प्रश्नहरू अघि सारेका थिए। उनले ऋणको ब्याजदर ऐतिहासिक रूपमा तल्लो विन्दुमा झर्दा पनि बजारमा कर्जाको माग किन बढ्न सकिरहेको छैन भनेर सोधेका थिए। त्यस्तै, उत्पादन र लगानीका क्षेत्रमा किन रूपान्तरण हुन सकिरहेको छैन भनेर उनको चासो रह्यो।
बजेटमार्फत आर्थिक रूपान्तरणको दिशा तय गरिसकिएको अवस्थामा पनि निजी क्षेत्र र व्यवसायीहरू नयाँ लगानी विस्तार गर्न किन हिचकिचाइरहेका छन् भनेर उनले जान्न खोजेका थिए।
समस्याहरूको जड मौद्रिक नीति, वित्तीय नीति वा निजी क्षेत्रको खस्किँदो आत्मविश्वासमध्ये कहाँ छ भन्नेबारे स्पष्ट र निष्कपट धारणा राख्न उनले बैंकका सिइओहरूलाई आग्रह गरे।
अर्थमन्त्री वाग्लेले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। ‘जहाँ कानुनी सुधार आवश्यक छ, त्यहाँ कानुन सुधार्नेछौँ। प्रक्रियागत झन्झट भए प्रक्रिया बदल्नेछौँ र सरकारबाट निर्णय लिनुपर्ने ठाउँमा हामी पछि हट्ने छैनौ,’ उनले भने।
अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै विश्वासको वातावरण सिर्जना गर्ने, लगानी विस्तार गर्ने र देशलाई उच्च उत्पादकत्वको नयाँ चरणमा लैजाने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारे।


