काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जना उपभोक्तालाई बधाई दिएका छन्। सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो १५ दिनको नतिजा शुक्रबार सार्वजनिक गरिएको थियो।
आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १-१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका थिए। साउन १ देखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा कारोबार गरी विभागको प्रणालीमा बिल पेस गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी थिए।
जसमध्ये १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ विजेता बनेका कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशीलाई फोन सम्पर्क गरेर अर्थमन्त्री डा. वाग्लेले बधाई दिएका हुन्। जोशीले शिवकृष्ण जेनरल स्टोर्सबाट सामान खरिद गरेका थिए।
'धेरै धेरै धन्यवाद अर्थमन्त्रीज्यू,' १० लाख विजेता जोशीले फोनमा भने। जोशीले गत साउन ७ गते २५० रुपैयाँ पर्ने सामान अनलाइन बैंकिङमार्फत क्युआर स्क्यान गरी खरिद गर्दा १० लाख रुपैयाँ जितेका थिए।
यसैगरी, अर्थमन्त्री वाग्लेले १ लाख रुपैयाँ विजेता रुपन्देहीकी सपना खरेललाई पनि बधाई दिए। खरेलले साउन ९ गते देवदह नगरपालिका मिलनचोकमा रहेको शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी किनेकी थिइन्।
अर्थमन्त्री वाग्लेले जोशी र खरेल दुवैलाई अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले सम्पर्क गरेर पुरस्कार जितेको बारे विस्तृत जानकारी दिने पनि बताए।
सरकारले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रम यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ। अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा स्वतः सहभागी हुने प्रणाली विकास गरिएको छ। तर, वस्तु तथा सेवा खरिद गरेपछि भ्याट तथा प्यान बिल भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ।
यसैगरी, नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने सक्कल भ्याट तथा प्यान बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागको उपहार पोर्टल (ttps://prize.ird.gov.np/) मा गएर दर्ता गराउनु पर्छ। सरकारले हरेक दिन एक जनालाई करकट्टी गरी १ लाख रुपैयाँ र प्रत्येक १५-५ दिनमा २ जनालाई १०-१० लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराउनेछ।
उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुनेछ। एक लाख रुपैयाँको कुल उपहार रकम एक लाख ३३ हजार ३३४ मा २५ प्रतिशत करकट्टी गरेर विजेताले एक लाख नगद पाउने छन् भने १० लाख रुपैयाँको उपहारमा भने २५ प्रतिशत कर लाग्नेछ।


