चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु.एक करोड नौ लाख १७ हजार राजस्व संकलन गरेको छ ।
कार्यालयले हुलाक टिकट बिक्री, काउन्टर अटोमेसन, पार्सल तथा रोयल्टीलगायतका विभिन्न सेवा शुल्कबाट उक्त राजस्व संकलन गरेको हो ।
समीक्षा अवधिमा संकलित कुल राजस्वमध्ये हुलाक टिकट बिक्रीबाट रु.५८ लाख ७२ हजार तथा काउन्टर अटोमेसन, पार्सल र रोयल्टीलगायतका अन्य सेवा शुल्कबाट रु.५० लाख ४४ हजार संकलन भएको कार्यालय प्रमुख शालिकराम बस्यालले ट्याक्सखबरलाई जानकारी दिए ।
गत आवमा कार्यालयले ९१.११ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विनियोजित कुल रु. छ करोड ३३ लाख ६१ हजार वार्षिक बजेटमध्ये रु.पाँच करोड ७७ लाख ३२ हजार खर्च भएको उनले जानकारी दिए ।
नेपाल सरकारको निर्णयअनुसार गत वर्षदेखि चितवनमा ‘एक स्थानीय तह, एक हुलाक’को नयाँ सङ्गठनात्मक संरचना कार्यान्वयनमा ल्याइएको छ ।
हाल जिल्लाका छवटा स्थानीय तह राप्ती, खैरहनी, रत्ननगर, कालिका र माडी नगरपालिका तथा इच्छाकामना गाउँपालिकामा पालिका हुलाक कार्यालय सञ्चालनमा रहेका छन् ।
यसबाहेक भरतपुर महानगरपालिकाभित्र चनौली, जगतपुर र नारायणगढमा तीन वटा हुलाक काउन्टर तथा १२ अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह भइरहेको छ ।
जिल्लामा स्वीकृत ५३ दरबन्दीमध्ये गत वर्ष स्थायी २६ र करारमा २३ गरी ४९ कर्मचारी कार्यरत रहेका थिए । चार पद रिक्त रहेको कार्यालयले जनाएको छ ।
यसबाहेक २२ जना अतिरिक्त हुलाक जनशक्ति कार्यरत छन् ।
सञ्चार क्षेत्रतर्फ कार्यालयले जिल्लाका ३५ वटा सञ्चारमाध्यमलाई रु। ६० लाख २४ हजार लोककल्याणकारी विज्ञापनबापत भुक्तानी गरेको छ ।
यस्तै, १७ एफएम रेडियो नवीकरण, २२ पत्रकारलाई परिचयपत्र वितरण तथा १९ अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गरिएको कार्यालय प्रमुख बस्यालले जानकारी दिए ।


