काठमाडौं । सरकारले २२ साउनमा खोलेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका १४ विजेताको नाम सार्वजनिक गरेको छ ।
आन्तरिक राजस्व विभागले आफ्नो वेभसाइटमा चालु आर्थिक वर्षको पहिलो दिन श्रावण १ देखि श्रावण १५सम्मका विजेतामध्ये १० लाख रुपैयाँको बम्पर विजेता हेमराज जोशी रहेको जनाएको छ ।
१-१ लाख रुपैयाँको उपभोक्ता पुरस्कार १५ जनाले जितेका थिए । तर १३ जनाको नाम मात्र सार्वजनिक गरिएको छ । उनीहरू अनिषा खनाल, अमित राई, नरेन्द्र बहादुर बिके, हिमाल अर्याल, राज कुमार लामिछाने, अर्जुन कुमार न्यौपाने, सपना न्यौपाने खनाल, संजय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार (बिके), प्रविण कँडेल, एकता शर्मा श्रेष्ठ र साहारा गुरुङ हुन् ।
विजेता उपभोक्ताहरूमध्ये दुई कुपनका विषयमा थप छानबिन गरी निर्क्यौल गर्नुपर्ने भएकाले यो सूचीमा समावेश नगरिएको आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा जनाएको छ ।
सरकारले घोषणा गरेको करदाता प्रोत्साहन कार्यक्रम यही साउन १ गतेबाट कार्यान्वयनमा आएको छ ।
अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो उपहार कार्यक्रममा स्वतः सहभागी हुने प्रणाली विकास गरिएको छ । तर, वस्तु तथा सेवा खरिद गरेपछि भ्याट तथा प्यान बिल भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ ।
यसैगरी, नगदमा वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले भने सक्कल भ्याट तथा प्यान बिल लिएपछि त्यसलाई आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा गएर दर्ता गराउनुपर्छ ।
सरकारले हरेक दिन एक जनालाई करकट्टी गरी १ लाख रुपैयाँ र प्रत्येक १५–१५ दिनमा २ जनालाई १०–१० लाख रुपैयाँ नगद प्रोत्साहन रकम उपलब्ध गराउनेछ ।
उपहार हरेक महिनाको १६ गते र महिनाको अन्तिम दिन घोषणा हुनेछ ।
एक लाख रुपैयाँको कुल उपहार रकम एक लाख ३३ हजार ३३४ मा २५ प्रतिशत करकट्टी गरेर विजेताले एक लाख नगद पाउने छन् भने १० लाख रुपैयाँको उपहारमा भने २५ प्रतिशत कर लाग्नेछ ।
बिजेताको विवरण प्रकाशन_hfea6jw.pdf :To download file click here


