काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने भएको छ ।
अहिले नाइमाको पनि मेला चलिरहेको छ । नाडाको पनि अर्को महिना मेला के फरक हुन्छ र के सुविधा ग्राहकले पाउँछन् भन्ने विषय सहित नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीसँग कुराकानी गरेका छौं ।
अटो शो के हो ?
नाडा अटो शो अटोमोबाइल क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रसँग जोडिएको कार्यक्रम हो । सवारीसाधन बिक्रीसँगै बिक्रीपछिको सेवा, बीमा, बैंक तथा वित्तीय सेवा, मिडिया, यातायात, होटल तथा खाद्य व्यवसायलगायत धेरै क्षेत्र यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने छ ।
अटो शो एउटा सवारीसाधन बिक्री गर्ने ठाउँ मात्र होइन, यससँग जोडिएको सम्पूर्ण इकोसिस्टम एउटै ठाउँमा देखिन्छ ।
अटोमोबाइल क्षेत्रले सरकारलाई राजस्व संकलन तथा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ ।
त्यसैले अटोमोबाइल क्षेत्रलाई नीतिगत रूपमा स्थिरता र सहजीकरण आवश्यक रहेको छ ।
यसपटकको प्रदर्शनीमा के के पाइन्छ ?
सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, बीमा, बैंक तथा वित्तीय सेवा, बिक्रीपछिको सेवा र नयाँ प्रविधिसहित अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षलाई एउटै छानामुनि ल्याइनेछ ।
‘नाडा व्यापार गर्नका लागि मात्रै आयोजना हुने प्रदर्शनी होइन,’।, ‘नयाँ आविष्कार, प्रविधिको विकास र आगामी दिनमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ जान्छ भन्ने कुरा उपभोक्तालाई देखाउनु हाम्रो मुख्य उद्देश्य हो ।’
मेलामा स्टल कति हुन्छन् ?
यसपटकको शोमा २०० भन्दा बढी स्टल रहनेछन् । विभिन्न ब्रान्डले नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरेका छन् । कुन ब्रान्डले कुन समयमा नयाँ उत्पादन सार्वजनिक गर्ने भन्ने विस्तृत विवरण भने आयोजकले छुट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।
यसपटकको नाडा अटो शोमा नेपाली उत्पादन तथा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने भएको छ ।
नेपालमै उत्पादन भएको तथा एसेम्बल गरिएका सवारीसाधनलाई प्रदर्शनीमा राखिने छ।
अहिले नाइमाले पनि गरिरहेको छ, यसभन्दा फरक के हुन्छ ?
मेला मोटरको अरुले पनि गर्न सक्छन् । तर नाडा पुरानो संस्था हो । यसले सबैलाई एउटै मालामा राखेको छ । यसपालिको मेलामा नेपालमै पूर्ण उत्पादन भएको यात्री मोटरसाइकलसमेत शोमा सार्वजनिक गर्ने तयारी छ ।
नेपाली उद्योगले सवारीसाधन उत्पादन तथा एसेम्बलीमा गरेको लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय उत्पादनलाई प्रदर्शनीमा प्राथमिकता दिइएको छ ।
उद्योगको लागि के गर्न सकिन्छ ?
नेपालमा सवारीसाधन एसेम्बली तथा उत्पादनको सम्भावना विस्तार हुँदै गएको छ । त्यसैले यस्ता उद्योगलाई दीर्घकालीन नीति र स्थायित्व दिन सके बहुराष्ट्रिय कम्पनीलाई समेत नेपालमा आकर्षित गर्न सकिने छ ।
पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी)को हिस्सा बढ्दै गएको छ । पेट्रोल तथा डिजेलमा आधारित सवारीसाधनको तुलनामा ईभीप्रति उपभोक्ताको आकर्षण बढिरहेको छ ।
तर ईभीको बढ्दो संख्यासँगै पर्याप्त चार्जिङ पूर्वाधार निर्माण हुन नसक्नु प्रमुख चुनौतीका रूपमा रहेको छ । नेपालभर दुई हजारभन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसके पनि बढ्दो ईभीका लागि हालको पूर्वाधार पर्याप्त नभएकोले यसको लागि लाग्नुपर्छ, सरकारले नीति ल्याओस् उद्योग लगायत सम्पूर्ण विकासमा नीजि क्षेत्र छ ।
नीजि क्षेत्रले अहिलेसम्म सर्वसाधारणको लागि के गर्यो ?
नीजि क्षेत्रले विदेशबाट गाडी ल्यायो । उद्योगको लागि सरकारसँग छलफल गरिरहेको छ । योसँगै ईभी आयातकर्ताले आवश्यकता अनुसार विभिन्न स्थानमा फास्ट चार्जर जडान गरिरहेको र नेपाल विद्युत् प्राधिकरणले समेत देशका विभिन्न स्थान तथा राजमार्गमा चार्जिङ पूर्वाधार विस्तार गरिरहेको छ ।
नेपालमा ‘चार्जिङ स्टेसन बन्नै नसकेको अवस्था होइन, तर अहिलेको आवश्यकताका तुलनामा पर्याप्त छैन,’ । ईभीको संख्या बढ्दै जाँदा चार्जिङ पूर्वाधार पनि क्रमिक रूपमा विस्तार हुँदै जानुपर्छ ।
ईभी अहिलेको बजारको प्रमुख प्रवृत्ति भए पनि अटोमोबाइल प्रविधि निरन्तर परिवर्तन हुने भएकाले आगामी पाँचदेखि १० वर्षमा आउन सक्ने नयाँ प्रविधिलाई समेत नाडा अटो शोमा समेट्ने प्रयास गरिएको छ ।
अटोमोबाइल बजार सुधारको बाटोमा कसरी लागेको छ नाडा ?
नेपालको अटोमोबाइल बजार क्रमिक रूपमा सुधारको बाटोमा रहेको बताए । पछिल्लो समय बजारमा सुधारका संकेत देखिन थालेको छ । सरकारले हालै ल्याएको बजेट तथा मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन आयात तथा व्यवसायलाई केही सहज बनाएको छ ।
लामो समयदेखि अटोमोबाइल क्षेत्रले उठाउँदै आएको कर, आयात तथा वित्तीय सुविधासम्बन्धी विषयमा पछिल्लो बजेटले केही सम्बोधन गरेको छ । ठूला सवारीसाधनका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सहज बनाउनुपर्नेमा उनले जोड दिए । साथै, सवारीसाधन खरिदमा कर्जाको ‘लोन टु भ्यालु’ (एलटीभी) अनुपात बढाउनुपर्ने मागसमेत छ ।
‘एलटीभी अनुपातलाई केही बढाएर सवारीसाधन खरिद सहज बनाउने र निश्चित अवधिका लागि ब्याजदरमा सहुलियत दिने व्यवस्था भयो भने यसले बजारलाई थप चलायमान बनाउन सक्छ,’ । यसबाट सवारीसाधन खरिद गर्न चाहने उपभोक्तालाई सहज हुनुका साथै बैंकिङ प्रणालीमा रहेको रकम पनि अटोमोबाइल क्षेत्रमा परिचालन हुन सक्छ ।

एसेम्बली उद्योगलाई दीर्घकालीन नीतिबारे के छ भनाई ?
नेपालमा सवारीसाधन एसेम्बली उद्योगमा लगानी बढ्दै गएकोछ । यस क्षेत्रलाई दीर्घकालीन स्थायित्व दिन सरकारको नीति महत्वपूर्ण हुने छ । नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बली तथा स्थानीय उत्पादनको हिस्सा उल्लेख्य रहेको छ ।
यस्ता उद्योगलाई स्पष्ट र स्थिर नीति दिएमा आगामी दिनमा थप लगानी भित्र्याउन सकिने छ । नेपालमा उत्पादन तथा एसेम्बलीको वातावरण बने बहुराष्ट्रिय कम्पनीहरूलाई समेत नेपालमा लगानी गर्न आकर्षित गर्न सकिन्छ ।
सडक सुरक्षा र सीप विकासमा के छ धारणा ?
नाडाले व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अनावश्यक हर्नको प्रयोग नगर्ने, जोखिमपूर्ण ओभरटेक नगर्ने तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्नेलगायतका विषयमा चालकलाई सचेत गराउने काम भइरहेको छ ।
त्यसैगरी अटोमोबाइल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न संघसंस्थासँग सहकार्य गरी सीपमूलक तालिम सञ्चालन भइरहेको उनले बताए। तालिम लिएका जनशक्तिलाई रोजगारीसँग जोड्ने प्रयाससमेत भइरहेको छ ।
भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोमा उपभोक्ता सहभागी हुन आग्रह गर्दछुँ ।
एउटै छानामुनि विभिन्न ब्रान्ड, नयाँ प्रविधि र अटोमोबाइलसँग सम्बन्धित सेवा उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आवश्यकता, सवारीसाधनको क्षमता तथा बिक्रीपछिको सेवाबारे बुझेर मात्र खरिद निर्णय गर्नुपर्ने छ ।


