काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारको राजस्व संकलन ८८ अर्ब रुपैयाँ नाघेको छ।
महालेखा नियन्त्रक कार्यालयको साउन ३० गतेसम्मको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार सरकारले ८८ अर्ब ९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
सरकारले चालु आर्थिक वर्षमा १५ ख र्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउन ३० गतेसम्मको संकलन वार्षिक लक्ष्यको ५.५७ प्रतिशत हो।
कुल राजस्वमध्ये अधिकांश हिस्सा कर राजस्वको रहेको छ। साउन ३० गतेसम्म सरकारले ८१ अर्ब ७ करोड १७ लाख रुपैयाँ कर राजस्व उठाएको छ। यो कर राजस्वको वार्षिक लक्ष्यको ५.७८ प्रतिशत हो।
कर राजस्वतर्फ सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ३ अर्ब १८ करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
त्यस्तै गैरकर राजस्वबाट ७ अर्ब २ करोड ३० लाख रुपैयाँ संकलन भएको छ। गैरकर राजस्वको वार्षिक लक्ष्य १ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ।
साउन ३० गते मात्रै सरकारले ९ करोड ६ लाख रुपैयाँ राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ।
त्यस दिनको कर राजस्व संकलन ८ करोड १८ लाख रुपैयाँ रहेको छ भने गैरकर राजस्वबाट ८८ लाख रुपैयाँ प्राप्त भएको छ।
साउन २९ गतेसम्म सरकारको कुल राजस्व संकलन ८७ अर्ब ९९ करोड ४१ लाख रुपैयाँ रहेकोमा साउन ३० गते एकै दिनको संकलनपछि यो रकम बढेर ८८ अर्ब ९ करोड ४७ लाख रुपैयाँ पुगेको हो।
राजस्वबाहेक अनुदान र अन्य प्राप्तिसमेत जोड्दा साउन ३० गतेसम्म सरकारको कुल प्राप्ति ८९ अर्ब ३० करोड ५७ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक कुल प्राप्तिको लक्ष्यको ५.४४ प्रतिशत हो।
यस अवधिमा सरकारले २ अर्ब ४० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ। अन्य प्राप्तितर्फ ९७ करोड ७ लाख रुपैयाँ संकलन भएको छ।
सरकारको आम्दानीसँगै खर्च पनि बढिरहेको छ। साउन ३० गतेसम्म सरकारी कोषबाट ४१ अर्ब ८५ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ।
कुल खर्चमध्ये चालुतर्फ २१ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ।
यसरी साउनको अन्त्यतिर आइपुग्दा सरकारको राजस्व संकलन ८८ अर्बको सीमा पार गरेको छ। तर वार्षिक लक्ष्यको तुलनामा प्रगति अझै ५.५७ प्रतिशत मात्रै रहेकाले आगामी महिनामा राजस्व संकलनको गति बढाउनुपर्ने देखिन्छ।



