भन्सार जाँचपासबिनै जोमसोम पुगे ८ कन्टेनर, करोडौँ राजस्व चुहावटको आशंका: चालक नियन्त्रणमा

भन्सार जाँचपासबिनै जोमसोम पुगे ८ कन्टेनर, करोडौँ राजस्व चुहावटको आशंका: चालक नियन्त्रणमा

सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • images

    काठमाडौं । मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ वटा कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध वस्तु ओसारपसार भएको गोप्य सूचना पाएपछि प्रहरीले कन्टेनर नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाएको हो ।

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शंकास्पद अवस्थामा रहेका ८ वटा कन्टेनर नियन्त्रणमा लिइएको थियो। प्रहरीले कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकसँग सोधपुछ गरेपछि ती कन्टेनरलाई भन्सार यार्डमा चेकजाँच नगराई सिधै सिल लगाएर ल्याइएको प्रारम्भिक विवरण फेला पारेको जनाएको छ ।

    प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुनसक्ने आशंका देखिएपछि सबै कन्टेनर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका कन्टेनर तथा चालकलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको छ ।

    को–को चालक पक्राउ परे?

    प्रहरी नियन्त्रणमा लिइएका कन्टेनरका चालकमा धौलागिरि गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ, दोलखा भीमेश्वर नगरपालिका–६ का २२ वर्षीय उद्धव बस्नेत, पाल्पा तानसेन नगरपालिका–७ का ३६ वर्षीय धर्मबहादुर नेपाली, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, काभ्रे पाँचखाल नगरपालिका–७ का २३ वर्षीय विशाल तामाङ र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्।

    प्रहरीका अनुसार नियन्त्रणमा लिइएका कन्टेनरमध्ये ना.६ ख ४७४१ नम्बरको कन्टेनरका चालक ईश्वर थापा, ना.६ ख ४६९६ नम्बरको कन्टेनरका चालक दोलखाका रत्नबहादुर तामाङ, बा.प्र. ०१००६ ख २२४७ नम्बरको कन्टेनरका चालक उद्धव बस्नेत, बा.प्र. ०१००६ ख ६२७३ नम्बरको कन्टेनरका चालक पाल्पाका धर्मबहादुर नेपाली रहेका छन्।

    त्यस्तै ना.३ ख ७६६० नम्बरको कन्टेनरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का कर्म शेर्पा, ना.६ ख २०२२ नम्बरको कन्टेनरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का निरोज नेपाली, बा.प्र. ०१००६ ख ६६११ नम्बरको कन्टेनरका चालक काभ्रे पाँचखाल नगरपालिका–७ का विशाल तामाङ र बा.प्र. ०१–००५ ख २२४५ नम्बरको कन्टेनरका चालक गोपाल श्रेष्ठ रहेका छन्।

    भन्सार प्रणालीमाथि प्रश्न

    mustang.png

    यस घटनाले मुस्ताङ भन्सार कार्यालयको जाँच प्रणालीमाथि समेत गम्भीर प्रश्न उठाएको छ। भन्सार जाँचपास पूरा नगरी कन्टेनर जोमसोमसम्म कसरी आइपुगे भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    यसअघि पनि भन्सार कार्यालयबाट जाँचपास भएर छुटेका दुई मालवाहक गाडीलाई समाचार सार्वजनिक भएपछि पुनः नियन्त्रणमा लिएर १४ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ । त्यसैले पछिल्लो घटनाले भन्सार नाकाबाट हुने मालवस्तुको जाँच तथा निगरानी प्रणालीमाथि थप प्रश्न खडा गरेको छ ।

    भन्सार क्षेत्रमा पछिल्लो समय विकृति बढेको आरोपसमेत उठिरहेका बेला ८ वटा कन्टेनर जाँचपासबिनै जोमसोमसम्म कसरी आइपुगे भन्ने विषय थप पेचिलो बनेको मुस्ताङ भन्सार कार्यालयका भन्सार अधिकृत अमिन्द्र सिंहले ट्याक्सखबरलाई जानकारी दिए । 

    प्रहरीले कन्टेनरभित्र के–कस्ता वस्तु रहेको छ, भन्सार जाँचपास किन भएन, कन्टेनरलाई कसरी भन्सार यार्डबाट बाहिर निकालियो र यसमा कस–कसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ ।

    राजस्व अनुसन्धान कार्यालयले गर्ने थप अनुसन्धानपछि कन्टेनरमा रहेको वास्तविक मालवस्तु, त्यसको मूल्य, सम्भावित राजस्व चुहावट तथा घटनामा संलग्न व्यक्तिहरूबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend