लघुवित्तको नाफामा झन्डै १२५ प्रतिशत उछाल, नेस्डोको नाफा १४५६ प्रतिशतले बढ्यो

लघुवित्तको नाफामा झन्डै १२५ प्रतिशत उछाल, नेस्डोको नाफा १४५६ प्रतिशतले बढ्यो

ट्याक्स खबर
मंगलवार, भाद्र २ २०८३
ट्याक्स खबर
मंगलवार, भाद्र २ २०८३
  • images

    काठमाडौं। नेपालका लघुवित्त वित्तीय संस्थाहरूको खुद नाफामा गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य सुधार देखिएको छ।

    चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्त क्षेत्रको औसत खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १२५ प्रतिशतले बढेको हो।

    सार्वजनिक वित्तीय विवरणअनुसार लघुवित्त उद्योगको औसत खुद नाफा आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ८२ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा १२४.९० प्रतिशतले बढेर २४ करोड ८ लाख रुपैयाँ पुगेको छ।

    नाफासँगै लघुवित्त संस्थाहरूको औसत चुक्ता पुँजी र रिजर्भमा पनि वृद्धि भएको छ। औसत चुक्ता पुँजी ७६ करोड ८५ लाख रुपैयाँबाट ६.१ प्रतिशतले बढेर ८१ करोड ५४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, औसत रिजर्भ ७८ करोड १८ लाखबाट १५.४१ प्रतिशतले बढेर ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ।

    वितरणयोग्य नाफामा भने तुलनात्मक रूपमा कम वृद्धि देखिएको छ। यस्तो नाफा १७ करोड ८२ लाख रुपैयाँबाट ८.७१ प्रतिशतले बढेर १९ करोड ३७ लाख रुपैयाँ पुगेको छ।  

    प्रतिशतका आधारमा नाफा वृद्धिमा नेस्डो समृद्ध लघुवित्त सबैभन्दा अगाडि देखिएको छ। अघिल्लो आर्थिक वर्ष १ करोड १ लाख रुपैयाँ नोक्सानीमा रहेको नेस्डाेले गत आर्थिक वर्षमा १३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यससँगै कम्पनीको नाफा सुधार १ हजार ४५६.६३ प्रतिशत पुगेको छ।

    सामुदायिक लघुवित्तको खुद नाफा १०४१.७२ प्रतिशतले बढेर ४ करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, फर्वर्ड माइक्रोफाइनान्सको नाफा ८५४.८० प्रतिशतले बढेर ६२ करोड ३५ लाख रुपैयाँ पुगेको छ।

    अघिल्लो वर्ष ५ करोड ७९ लाख रुपैयाँ घाटामा रहेको मातृभूमि लघुवित्तले गत आर्थिक वर्षमा २८ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीको नाफा सुधार ५८९.३५ प्रतिशत देखिएको छ।

    लक्ष्मी लघुवित्तको खुद नाफा पनि ४४५.३४ प्रतिशतले बढेर १० करोड ६८ लाख रुपैयाँ पुगेको छ।

    छिमेक लघुवित्त सर्वाधिक नाफा कमाउनेमा अगाडि

    रकमका आधारमा भने छिमेक लघुवित्त सर्वाधिक नाफा कमाउने लघुवित्त बनेको छ। कम्पनीले गत आर्थिक वर्षमा १२९ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष यस्तो नाफा १२१ करोड २८ लाख रुपैयाँ थियो।

    जीवन विकास लघुवित्तले १०८ करोड २२ लाख, डिप्रोक्स लघुवित्तले ९८ करोड ९४ लाख र नेशनल लघुवित्तले ८९ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

    साना किसान विकास लघुवित्तले भने ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यद्यपि, कम्पनीको नाफा अघिल्लो वर्षको ८७ करोड ८७ लाख रुपैयाँको तुलनामा घटेको छ।

    वितरणयोग्य नाफामा छिमेक अगाडि

    लाभांश वितरण गर्न सक्ने क्षमताको महत्वपूर्ण सूचक मानिने वितरणयोग्य नाफामा पनि छिमेक लघुवित्त शीर्ष स्थानमा छ। कम्पनीको वितरणयोग्य नाफा २१६ करोड ३ लाख रुपैयाँ रहेको छ।

    त्यस्तै, साना किसान विकास लघुवित्तको वितरणयोग्य नाफा १६४ करोड ८४ लाख, जीवन विकास लघुवित्तको १४० करोड १६ लाख र डिप्रोक्स लघुवित्तको १०८ करोड ५७ लाख रुपैयाँ रहेको छ।

    रिजर्भमा साना किसानको दबदबा

    रिजर्भको आकार हेर्दा साना किसान विकास लघुवित्त सबैभन्दा अगाडि रहेको छ। कम्पनीसँग ५९९ करोड ९५ लाख रुपैयाँ रिजर्भ रहेको छ।

    छिमेक लघुवित्तको रिजर्भ ५४६ करोड ४० लाख रुपैयाँ र निर्धन उत्थान लघुवित्तको ३३२ करोड ३५ लाख रुपैयाँ रहेको छ।

    समग्र क्षेत्रको नाफामा सुधार आए पनि सबै लघुवित्त संस्थाको वित्तीय अवस्था समान रूपमा सुधारिएको छैन। केही संस्थाको खुद नाफा उल्लेख्य रूपमा घटेको छ।

    निर्धन उत्थान लघुवित्तको खुद नाफा ५८.०२ प्रतिशतले घटेर ३५ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ। मेरो माइक्रोफाइनान्सको नाफा ४१.७५ प्रतिशत र मिथिला लघुवित्तको ३८.९७ प्रतिशतले घटेको छ।

    त्यस्तै, एनआईसी एशिया लघुवित्तको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। कम्पनीको वितरणयोग्य नाफा ९५ करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ।

    यसले समग्र लघुवित्त क्षेत्रमा नाफा सुधारको गति तीव्र भए पनि संस्थागत रूपमा भने वित्तीय प्रदर्शनमा ठूलो अन्तर रहेको देखाएको छ। केही संस्थाले अघिल्लो वर्षको घाटा तथा कमजोर प्रदर्शनबाट उल्लेख्य सुधार गरेका छन् भने ठूला तथा स्थापित केही संस्थाले भने नाफा र वितरणयोग्य क्षमतामा दबाब खेपिरहेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend