काठमाडौं। सेयर बजारमा विवादित कारोबारको आरोपमा पटकपटक अनुसन्धानमा तानिएका कारोबारी दीपेन्द्र अग्रवालमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानको दायरा थप फराकिलो बनाएको छ।
अनुसन्धानकै क्रममा अग्रवालसँगै उनको परिवार र उनीसँग साझेदारी तथा कारोबारमा जोडिएका व्यक्तिहरूको बैंक खाता, सेयर खाता लगायतका सम्पत्ति रोक्का गरिएको छ।
सिआइबीले अग्रवालको सेयर कारोबारमा उनको मात्र नभई उनीसँग जोडिएका अन्य व्यक्तिहरूको कारोबार र सम्पत्तिको समेत अनुसन्धान गरिरहेको छ। अनुसन्धान प्रभावित हुन नदिन र कारोबार तथा सम्पत्तिको वास्तविक सम्बन्ध पहिचान गर्न खाताहरू रोक्का गरिएको स्रोतको भनाइ छ।
४९ लाखको कारोबारबाट सुरु भएको मुद्दा
अग्रवालमाथि पछिल्लो पटक धितोपत्रसम्बन्धी ऐनअन्तर्गत झुटो कारोबार र सेयर मूल्य प्रभावित पारेको आरोपमा अनुसन्धान भएको थियो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा सिआइबीले उनलाई २०८२ पुस ४ गते पक्राउ गरेको थियो।
बोर्डको प्रतिवेदनअनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा धितोपत्रसम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) विपरीत बदनियतपूर्ण रूपमा भ्रामक सूचना सार्वजनिक गरेको आरोप थियो।
सीआईबीका अनुसार त्यही गतिविधिबाट उच्च मूल्यमा सेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुनविपरीत नाफा कमाएको आरोप लागेको थियो। दफा ९७ (ग०) ले बदनियतसाथ कुनै तथ्य वा जानकारी लुकाउने तथा झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वानुमान बनाउने वा प्रकाशित गर्ने कार्यलाई कसुर मानेको छ।
एउटै व्यक्तिको कारोबार कि धेरै खाताको जालो?
अग्रवालमाथिको अनुसन्धानको महत्वपूर्ण पक्ष भनेको उनले आफ्नै खाताबाट मात्र कारोबार गरे वा आफूसँग जोडिएका अन्य व्यक्तिका टीएमएस खातासमेत प्रयोग गरे भन्ने हो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अध्ययनमा अग्रवालले अन्य टीएमएस प्रयोगकर्ता प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त वा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको उल्लेख थियो।
बोर्डको अध्ययनअनुसार विभिन्न व्यक्तिका टीएमएस खाताबाट एकअर्काबीच सेयर किनबेच भएको देखिएको थियो। केही कारोबारमा एक आफन्तले बिक्री गरेको सेयर अर्को सम्बद्ध व्यक्तिले खरिद गर्ने र त्यसपछि पुनः अर्को सम्बद्ध खातामा जाने ढाँचा देखिएको रिपोर्टहरूमा उल्लेख छ।
अग्रवालमाथिको अनुसन्धानमा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोप पनि जोडिएको थियो।
बोर्डको अध्ययनअनुसार २०८२ वैशाख १६ गते कारोबारको अन्तिम १५ मिनेटमा कर्पोरेट डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर करिब ४ करोड ९० लाख रुपैयाँमा कारोबार भएको थियो। उक्त कारोबारले कम्पनीको अन्तिम सेयर मूल्य ११६ रुपैयाँ ८३ पैसाले बढाएको निष्कर्ष अनुसन्धानमा देखिएको थियो।
यसलाई धितोपत्रसम्बन्धी ऐनको दफा ९४ का प्रावधानअनुसार झुटो कारोबार र दफा ९५ अनुसार मूल्य प्रभावित गर्ने कसुरका रूपमा हेरिएको थियो।
यही आधारमा बोर्डको प्रतिवेदन प्रहरीमा पुगेपछि सीआईबीले अग्रवाललाई पक्राउ गरेको थियो।
अग्रवाल यसअघि पनि सेयर कारोबारसँग सम्बन्धित विवादमा मुछिँदै आएका थिए। पछिल्लो पक्राउअघि पनि उनीविरुद्ध ठगीसम्बन्धी विषयमा प्रहरी अनुसन्धान भएको रिपोर्ट सार्वजनिक भएका थिए।


