सात वर्षपछि नागढुंगा सुरुङ निजी सवारीका लागि खुल्यो, असोजदेखि ठूला सवारीलाई पनि प्रवेश

सात वर्षपछि नागढुंगा सुरुङ निजी सवारीका लागि खुल्यो, असोजदेखि ठूला सवारीलाई पनि प्रवेश

ट्याक्स खबर
सोमवार, भाद्र ८ २०८३
ट्याक्स खबर
सोमवार, भाद्र ८ २०८३
  • images

    काठमाडौं। लामो प्रतीक्षापछि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि पनि खुला भएको छ। सोमबारदेखि कार, जीप र भ्यानलगायत ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीले सुरुङमार्ग प्रयोग गर्न पाउन थालेका हुन्।

    करिब २९ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश र बाहिरिने यात्राका लागि नागढुंगा सडकको विकल्प थपिएको छ। यसअघि उद्घाटन भएको करिब एक महिनासम्म सुरुङ आपतकालीन सवारीका लागि मात्र प्रयोग हुँदै आएको थियो।

    नागढुंगा आयोजना डिभिजनका इन्जिनियर सञ्जय पन्थीका अनुसार निजी सवारीका लागि हाल सुरुङमार्ग निःशुल्क गरिएको छ। सोमबार परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिएको सुरुङ मंगलबारदेखि भने दुईतर्फी सञ्चालनमा आउनेछ।

    हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निजी सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। यससँगै सोमबारदेखि गुर्जुधारास्थित फ्लाइओभर पनि सञ्चालनमा आएको छ।

    असोजदेखि सबै सवारीलाई प्रवेश

    सुरुङमार्गमा निजी सवारीको प्रवेश क्रमशः विस्तार गर्दै लगिने भएको छ। सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार असोजदेखि ठूला तथा बढी भार भएका सवारीलाई समेत सुरुङमार्ग प्रयोग गर्न दिने तयारी छ।

    असोज १ गतेदेखि भने सुरुङमार्ग प्रयोग गरेबापत टोल शुल्क लाग्नेछ। त्यसपछि काठमाडौं भित्रिँदा र बाहिरिँदा कार तथा भ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्नेछ।

    मिनीबस तथा टिपरले काठमाडौं भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ, बस तथा ट्रकले क्रमशः २६० र २०० रुपैयाँ तथा हेभी ट्रकले ६०० र २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

    यसरी सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं–धादिङतर्फको यात्रामा समय बचत हुने अपेक्षा गरिएको छ।

    सुरुङभित्र आफ्नै नियम

    सुरुङमार्गमा सवारी सञ्चालनका लागि विशेष सुरक्षा मापदण्ड तोकिएको छ। सुरुङभित्र सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी बनाउन पाइने छैन। सवारीको हेडलाइट बाल्नुपर्नेछ भने सुरुङभित्र गाडी रोक्न र ओभरटेक गर्न प्रतिबन्ध लगाइएको छ।

    पैदलयात्री तथा दुईपाङ्ग्रे सवारीलाई सुरुङभित्र प्रवेश दिइने छैन। त्यसैगरी डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसमेत सुरुङमार्गमा सञ्चालन गर्न पाइने छैन।

    सात वर्षको निर्माण यात्रा

    नागढुंगा सुरुङमार्गको शिलान्यास २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवादलगायत कारणले आयोजना निर्धारित समयमा पूरा हुन सकेन।

    शिलान्यासको करिब चार वर्षपछि २०८० साउन २२ गते आपतकालीन अर्थात् ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो। त्यसको करिब १० महिनापछि २०८१ असार ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य सुरुङको ब्रेक थ्रु गरेका थिए।

    मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने त्यससँगै २.५५७ किलोमिटर लामो आपतकालीन सुरुङ निर्माण गरिएको छ।

    गत साउन ११ गते पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सुरुङमार्ग उद्घाटन गरेका थिए। त्यसयता आपतकालीन सवारीबाहेक अन्य सवारीलाई प्रवेश दिइएको थिएन।

    जापानी सहयोगमा बनेको आयोजना

    नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापान सरकारको साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने गरी सम्झौता भएको थियो। निर्माणका क्रममा लागत बढेपछि जापानले थप ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो।

    जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माणको ठेक्का पाएको यो आयोजना नेपालका लागि यातायात पूर्वाधारमा नयाँ प्रविधिको प्रयोगका हिसाबले पनि महत्वपूर्ण मानिएको छ।

    अब निजी सवारीका लागि सुरुङ खुला भएसँगै वर्षौँदेखि निर्माणाधीन यो पूर्वाधार पहिलोपटक सर्वसाधारणको दैनिक यात्रासँग प्रत्यक्ष जोडिएको छ। आगामी असोजदेखि सबै वर्गका सवारीलाई सञ्चालनमा ल्याउने तयारीसँगै नागढुंगा सडकको चाप घटाउने र काठमाडौं–धादिङ आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend