काठमाडौं। नबिल बैंकका नायब महाप्रबन्धक (डिजिएम) गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा बढुवा भएका छन्।
सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डिसिइओमा बढुवा गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनले कुमारी बैंकमा शाखा प्रमुखका रूपमा काम गरेका थिए।
त्यसपछि ग्लोबल आईएमई बैंकमा १३ वर्षभन्दा बढी समय उच्च व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारी सम्हालेका अवस्थी करिब चार वर्षअघि सहायक महाप्रबन्धकका रूपमा नबिल बैंक प्रवेश गरेका थिए।
क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन तथा ग्राहक सेवामा विशेषज्ञता हासिल गरेका अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ विषयमा समेत अध्ययन पूरा गरेका छन्।
अवस्थीको बढुवासँगै नबिल बैंकको उच्च व्यवस्थापनमा उनको जिम्मेवारी थप भएको छ।


