काठमाडौं । रसुवा बाढीले बगाएर ल्याएको बैंकको अर्को सेफ (भल्ट) फेला परेको छ । धादिङको मलेखु खोलाको पारी किनारमा बाढीले बगाएर ल्याएको बैंकको भल्ट फेला परेको हो ।
उक्त भल्ट उद्धारकर्ता र प्रहरीले किनारबाट निकालेको छ भने भल्टलाई जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।
यसअघि रसुवा बाढीले बगाएर ल्याएको अर्को एक बैंकको भल्ट फोडेर रकम बाँडफाँट गरेको आरोपमा धादिङबाट २९ जना पक्राउ परेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको थियो ।
गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटमा रहेका ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालयहरू बगाएको थियो । सोही बाढीमा परेर ७ वटा वाणिज्य बैंकका २७ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।
कार्यालयहरू पूर्ण रूपमा बगाउँदा बैंकमा रहेको नगद, ऋणीले धितो राखेको सुनचाँदी र भल्टहरू पनि नदीमा मिसिएका थिए । बाढीले बगाउँदै ल्याएको एउटा भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो ।
धादिङ क्षेत्र नम्बर १ की रास्वपा सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत सो भल्ट स्थानीयले फोडेर पैसा बाँडेको भन्दै लगातार आवाज उठाउँदै आएकी थिइन् । उनले गल्छीका एक वडाअध्यक्षको नेतृत्वमा करिब ३५ जनाले भल्टमा रहेको १ करोड ८० लाख रुपैयाँ बाँडेको दाबी गरेकी थिइन् ।
सांसद तामाङले यसबारे जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई समेत जानकारी गराएपछि सुरक्षा निकायले सर्च अप्रेसन सुरु गरेको थियो ।
भल्ट फोडेर रकम लिने अन्य व्यक्तिहरूको खोजी र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


