रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि आयातको मुख्य विकल्प बन्यो कोरला, १० कर्मचारीको दरबन्दी थप्न माग

रसुवा र तातोपानी नाका अवरुद्ध भएपछि आयातको मुख्य विकल्प बन्यो कोरला, १० कर्मचारीको दरबन्दी थप्न माग

ट्याक्स खबर
शुक्रवार, भाद्र १९ २०८३
ट्याक्स खबर
शुक्रवार, भाद्र १९ २०८३
  • images

    काठमाडौं। रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका मुख्य वैकल्पिक मार्ग बन्ने भएको छ। दुई प्रमुख उत्तरी नाकाबाट आयात प्रभावित भएपछि कोरलामा सामानको चाप बढ्ने देखिएसँगै सरकारले यहाँ जनशक्ति र पूर्वाधार थप्ने तयारी थालेको छ।

    कोरला भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार नाकामा आयातको चाप बढ्ने भएकाले थप जनशक्तिका लागि भन्सार विभाग र मन्त्रालयसँग माग गरिएको छ। साथै, प्रविधि तथा आवश्यक पूर्वाधार विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको छ।

    हाल कोरला भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि ११ जना मात्र कार्यरत छन्। व्यापारको चाप बढ्ने भएपछि कार्यालयले चार जना अधिकृत र छ जना नायब सुब्बाको दरबन्दी थप गर्न माग गरेको छ।

    त्यस्तै, कोरला नाकामै क्वारेन्टाइन र अध्यागमन कार्यालय राख्ने विषयमा समेत छलफल भइरहेको छ। चीनको केरुङलगायत क्षेत्रमा रोकिएका सामान कोरला हुँदै नेपाल भित्र्याउनुपर्ने अवस्था आएपछि आयातित वस्तुको परीक्षण तथा अन्य प्रशासनिक प्रक्रिया नाकामै मिलाउनुपर्ने आवश्यकता देखिएको हो।

    भन्सार विभागले भने कोरला नाकाबाट आयात हुने सामान काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने व्यवस्था गरिसकेको छ। विभागका महानिर्देशक यमलाल भुसालका अनुसार रसुवा र तातोपानी नाका सञ्चालनमा नरहेकाले वैकल्पिक रूपमा कोरला नाकाबाट आयात सहज बनाउन यस्तो व्यवस्था गरिएको हो।

    चोभारमै जाँचपासको सुविधा

    भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि ल्याइएका वस्तु त्यहाँ जाँचपास नगरी चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा लगेर जाँचपास गर्न चाहने आयातकर्तालाई आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरेको छ।

    भन्सार ऐन, २०८२ को दफा ६४ तथा भन्सार नियमावली, २०८३ को नियम ६२ को उपनियम (७) बमोजिम यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ। अर्को निर्णय नभएसम्म यो सुविधा लागू हुनेछ।

    यसअनुसार आयातकर्ताले चीनबाट कोरला नाकासम्म ल्याएको सामान त्यहाँबाट काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहसम्म तोकिएको सडकमार्ग हुँदै ढुवानी गरी जाँचपास गराउन सक्नेछन्। आयातको सुरुदेखि नै चोभारमा जाँचपास गर्ने गरी आवश्यक कागजात तथा प्रक्रिया मिलाउन सकिने व्यवस्था पनि गरिएको छ।

    मालवाहक सवारीसाधनका लागि विभागले कोरला–चोभार दुईवटा सडकमार्ग तोकेको छ। पहिलो मार्ग कोरला–नेचुङ (भन्सार)–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी–चोभार सुक्खा बन्दरगाह रहेको छ।

    दोस्रो मार्ग कोरला–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–मुग्लिङ–नारायणगढ–हेटौँडा–भैँसे–नौबिसे–कलंकी–चोभार तोकिएको छ।

    गुडाएर लैजान मिल्ने नयाँ सवारीसाधनका लागि भने कोरला–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–नारायणगढ–हेटौँडा–भैँसे–फर्पिङ–चोभार सुक्खा बन्दरगाह मार्गसमेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend