काठमाडौं । आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर (VAT) ऐन, २०५२ मा विभिन्न महत्वपूर्ण संशोधन गरेको छ। नयाँ व्यवस्थाले राइड सेयरिङ तथा ढुवानी सेवाको कारोबारदेखि विद्युत् सेवा, विद्युतीय बीजक, कर विवरण संशोधन र व्यवसायिक प्रयोजनका मालवस्तुको आन्तरिक ओसारपसारसम्मका विषयलाई समेटेको छ।
आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको आर्थिक ऐन, २०८३ सम्बन्धी जानकारीअनुसार VAT मा गरिएको मुख्य संशोधनले करको दरसँगै कर प्रशासनलाई डिजिटल र व्यवस्थित बनाउने तथा केही वस्तु तथा सेवामा कर छुट दिने व्यवस्थासमेत गरेको छ।
राइड सेयरिङ र ढुवानी सेवामा ५ प्रतिशत कर
राइड सेयरिङ प्लेटफर्ममार्फत व्यक्तिले प्रदान गर्ने यातायात तथा ढुवानी सेवाको कारोबारमा ५ प्रतिशतका दरले कर लाग्ने व्यवस्था गरिएको छ।
यस्तो कर राइड सेयरिङ प्लेटफर्म सञ्चालकले सम्बन्धित व्यक्तिको तर्फबाट संकलन गरी दाखिला गर्नुपर्नेछ। अर्थात् राइड सेयरिङमार्फत सेवा दिने चालक तथा सेवा प्रदायकको कारोबारमा कर संकलन तथा दाखिलाको जिम्मेवारी प्लेटफर्म सञ्चालकतर्फ समेत रहने व्यवस्था गरिएको छ।
बिजुलीमा ५० युनिटसम्म कर छुट
विद्युत् शक्तिको कारोबार गर्ने व्यवसायबाट विद्युत् शक्ति बिक्री गर्दा घरायसी प्रयोजनका लागि प्रतिग्राहक ५० युनिटसम्मको विद्युत् सेवामा कर छुट हुने व्यवस्था गरिएको छ।
तर घरायसी प्रयोजनमा ५० युनिटभन्दा बढी विद्युत् खपत भएमा त्यस्तो विद्युत् सेवामा ५ प्रतिशतका दरले कर लाग्नेछ।
घरायसी बाहेक अन्य प्रयोजनका लागि बिक्री हुने विद्युत् शक्तिको कारोबारमा भने १३ प्रतिशतका दरले VAT लाग्ने व्यवस्था गरिएको छ।
करदाताले अब सात दिनभित्र कर विवरण संशोधन गर्न पाउने
आर्थिक ऐनले कर प्रशासनमा समेत महत्वपूर्ण सुविधा थपेको छ। अब करदाताले पेश गरेको कर विवरण सात दिनभित्र संशोधन गर्न सक्ने व्यवस्था गरिएको छ।
यसले कर विवरण पेश गर्दा भएका सामान्य त्रुटि सच्याउन करदातालाई थप सहजता दिनेछ।
विद्युतीय बीजकमा गल्ती गरे ५ लाखसम्म जरिवाना
विद्युतीय बीजक जारी गर्ने करदाताले कानून उल्लंघन गरेमा जरिवानाको व्यवस्था पनि संशोधन गरिएको छ।
नयाँ व्यवस्थाअनुसार विद्युतीय बीजक जारी गर्ने करदातालाई कानून उल्लंघन गरेबापत अधिकतम ५ लाख रुपैयाँसम्म र न्यूनतम १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।
व्यवसायिक मालवस्तुको आन्तरिक ओसारपसारमा कडाइ
विभागबाट जारी हुने व्यवसायिक प्रयोजनका मालवस्तुको आन्तरिक ओसारपसारसम्बन्धी निर्देशन उल्लंघन गरेमा प्रति पटक ५० हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था गरिएको छ।
यसले व्यवसायिक प्रयोजनका मालवस्तु एक स्थानबाट अर्को स्थानमा लैजाँदा आवश्यक कागजात तथा विभागीय प्रक्रियाको पालना गर्न व्यवसायीलाई थप जिम्मेवार बनाउनेछ।
यी वस्तु तथा सेवामा कर छुट
आर्थिक ऐन, २०८३ ले केही वस्तु तथा सेवामा VAT छुटसम्बन्धी व्यवस्था पनि गरेको छ।
- बीमा अभिकर्ताले प्रदान गर्ने सेवा
- ई–लाइब्रेरी सेवा
- पनीर
- सुन तथा चाँदीका गरगहना तथा वस्तु निर्माण गर्दा लाग्ने ज्याला
- चिकित्सकद्वारा सिफारिस गरिएका चश्मा
आर्थिक ऐन, २०८३ ले VAT प्रणालीमा एकातर्फ डिजिटल कर प्रशासन, विद्युतीय बीजक र कर विवरण संशोधनलाई व्यवस्थित गरेको छ भने अर्कोतर्फ राइड सेयरिङ, विद्युत् कारोबारलगायत नयाँ तथा विस्तार भइरहेका क्षेत्रलाई स्पष्ट कर संरचनामा ल्याएको छ।
विशेषगरी राइड सेयरिङमा ५ प्रतिशत कर, घरायसी विद्युत्मा ५० युनिटसम्म छुट र त्यसपछि ५ प्रतिशत VAT तथा अन्य प्रयोजनको विद्युत्मा १३ प्रतिशत VAT लाग्ने व्यवस्थाले उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष प्रभाव पार्नेछ।
त्यस्तै, विद्युतीय बीजकमा कडाइ र मालवस्तुको आन्तरिक ओसारपसारमा जरिवानाको व्यवस्थाले कर प्रशासनलाई थप डिजिटल, अभिलेखमुखी र अनुपालन केन्द्रित बनाउने संकेत गरेको छ।


