काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
भदौ २५ गते बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले साधारण सेयरधनीका लागि ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। ३ प्रतिशत बोनस सेयरबापत ३६ करोड २५ लाख ८६ हजार २४७ रुपैयाँ र सोही बराबरको रकम नगद लाभांशका लागि छुट्याइएको बैंकले जनाएको छ। नगद लाभांशमा बोनस तथा नगद लाभांशको करसमेत समावेश छ।
त्यस्तै, बैंकले अग्राधिकार सेयरधनीका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ४१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ। यो लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिनेछ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ। बैंकले लाभांशसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डलगायत सम्बन्धित निकायलाई गराइसकेको छ।


