भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणको १५ करोड, कर्मचारी-पदाधिकारीले पनि तलबभत्ता दिने

भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणको १५ करोड, कर्मचारी-पदाधिकारीले पनि तलबभत्ता दिने

अधिकृत प्रथम श्रेणीका कर्मचारीले आठ दिनदेखि श्रेणीविहीनले एक दिनसम्मको तलब योगदान गर्ने, अध्यक्षले १० दिनको तलब र दुई बोर्ड बैठक भत्ता दिने

ट्याक्स खबर
शनिवार, भाद्र २७ २०८३
ट्याक्स खबर
शनिवार, भाद्र २७ २०८३
  • images

    काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले भोटेकोसी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँ सहयोग गरेको छ।

    प्राधिकरणले संस्थागत रूपमा उपलब्ध गराएको उक्त रकमको चेक सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    प्राधिकरणका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

    संस्थागत सहयोगसँगै प्राधिकरणका कर्मचारी तथा पदाधिकारीले समेत आफ्नो तलब तथा पारिश्रमिकबाट विपद् प्रभावितका लागि आर्थिक योगदान गर्ने निर्णय गरेका छन्।

    प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार विपद्बाट प्रभावित नागरिकको राहत तथा आवश्यक सहयोगका लागि कर्मचारीको तलब र पदाधिकारीको पारिश्रमिक तथा बैठक भत्ताबाट रकम योगदान गरिनेछ।

    निर्णयअनुसार अधिकृत प्रथम श्रेणीका कर्मचारीले आफ्नो सुरु तलब स्केलको आठ दिन बराबरको रकम योगदान गर्नेछन्। अधिकृत द्वितीय श्रेणीका कर्मचारीले छ दिन र अधिकृत तृतीय श्रेणीका कर्मचारीले चार दिन बराबरको तलब दिनेछन्।

    त्यस्तै, सहायकस्तरका कर्मचारीबाट दुई दिन बराबरको तलब तथा श्रेणीविहीन कर्मचारीबाट एक दिन बराबरको तलब योगदान गरिनेछ।

    प्राधिकरणका अध्यक्ष घिमिरेले आफ्नो १० दिन बराबरको तलब र दुईवटा बोर्ड बैठक भत्ता योगदान गर्ने निर्णय भएको छ। प्राधिकरणका बोर्ड सदस्यहरूले समेत दुई दिनको बोर्ड बैठक भत्ताबराबरको रकम विपद् प्रभावितका लागि दिने निर्णय गरेका छन्।

    यसरी प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपैयाँ उपलब्ध गराउनुका साथै आफ्ना कर्मचारी तथा पदाधिकारीबाट समेत थप रकम जुटाउने भएको हो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend