काठमाडौं। दशैँसहितका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले एटिएमबाटै सय रुपैयाँ दरका नोट निकाल्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
चाडपर्वका बेला साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा हुने भीड घटाउने र सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्र पठाउँदै मातहतका बैंक तथा वित्तीय संस्थाका एटिएमबाट सय रुपैयाँ दरका नोटसमेत वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
राष्ट्र बैंकका सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वमा सर्वसाधारणलाई साना दरका नोट सहज रूपमा उपलब्ध गराउन एटिएमबाट सय रुपैयाँ दरका नोट वितरण गर्ने व्यवस्था मिलाउन भनिएको छ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटिएमबाट पाँच सय र एक हजार रुपैयाँ दरका नोट मात्र निकाल्न मिल्ने व्यवस्था छ। त्यसका कारण खुद्रा रकम आवश्यक पर्ने सर्वसाधारणले बैंकको काउन्टरमै पुगेर नोट सटही गर्नुपर्ने अवस्था छ।
विशेषगरी दशैँमा दक्षिणा तथा अन्य प्रयोजनका लागि साना दरका नोटको माग बढ्ने भएकाले बैंकका काउन्टरमा लामो लाइन लाग्ने गरेको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि भने एटिएमबाटै सय रुपैयाँ दरका नोट निकाल्न सकिनेछ।


