काठमाडौं। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न नबिल बैंक र गरिमा विकास बैंकले वार्षिक साधारणसभा बोलाएका छन्। दुवै बैंकले साधारणसभामार्फत बोनस तथा नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने भएका छन्।
नबिल बैंकले असोज २२ गते ४२औँ वार्षिक साधारणसभा बोलाएको छ। काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सभा सुरु हुनेछ।
सभाले बैंकको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। १०.८० प्रतिशत नगद लाभांशमा कर प्रयोजनार्थ आवश्यक रकमसमेत समावेश छ।
त्यस्तै, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरका शेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा लैजाँदैछ।
नबिलले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १४ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले असोज १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन्।
यस्तै, गरिमा विकास बैंकले असोज २६ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ। पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा बिहान साढे १० बजे सभा हुनेछ।
गरिमाले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजाँदैछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पनि सभामा पेस हुनेछन्।
गरिमाले पनि साधारणसभा तथा लाभांश वितरणका लागि असोज १४ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज १३ गतेसम्म शेयर कारोबार भई कायम शेयरधनीले साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
यसरी दुवै बैंकले एकै दिन बुकक्लोज गर्ने भए पनि नबिलको बोनस ५ प्रतिशत र नगद १०.८० प्रतिशत तथा गरिमाको बोनस १० प्रतिशत र नगद १० प्रतिशत रहेको छ।


