काठमाडौं। अर्थ मन्त्रालयमा चार जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयका सहसचिव सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।
दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए। हालै लुम्बिनी प्रदेशबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका बन्धुप्रसाद बाँस्तोलालाई बजेट महाशाखाको जिम्मेवारी दिइएको छ।
त्यस्तै प्रेमप्रसाद आचार्यलाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी दिइएको छ। ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक केदारनाथ शर्माले सेवा अवधि बाँकी छँदै राजीनामा दिएपछि आचार्यलाई उक्त जिम्मेवारी दिइएको हो।
नारायणप्रसाद रिसाललाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ। रिसाल हालै कोशी प्रदेशबाट संघमा सरुवा भएर आएका हुन्।
त्यसैगरी हालै लोकसेवा आयोग कोशीबाट सरुवा भएका सहसचिव गोकुल बाँस्तोलालाई सहमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ। उनी उपसचिव हुँदा लामो समय महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत थिए।


