काठमाडौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत आयोजनाको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा सुरक्षाकर्मीका लागि २ प्रतिशत हिस्सा छुट्याउने व्यवस्था गर्न लागिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले विपद्का बेला सुरक्षाकर्मीले अहोरात्र खटिएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले उनीहरूको योगदानको कदर गर्दै जलविद्युत आयोजनाको आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्न लागिएको बताए।
उनका अनुसार सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनाको आईपीओमा २ प्रतिशत सेयर छुट्याउने गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकिएको छ।
विपद् तथा अन्य कठिन परिस्थितिमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरूलाई जलविद्युत आयोजनाको सेयरमा सहभागी गराउने व्यवस्था गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ।
हाल जलविद्युत आयोजनाको सेयर निष्कासनमा आयोजना प्रभावित स्थानीय बासिन्दा, आयोजना कर्मचारी र सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का लागि निश्चित हिस्सा छुट्याउने व्यवस्था छ। नयाँ व्यवस्था कार्यान्वयनमा आए सुरक्षाकर्मी पनि जलविद्युत आयोजनाको आईपीओमा आरक्षित हिस्सामार्फत सहभागी हुन पाउनेछन्।


