दुई महिनामै पौने ५ खर्बको वैदेशिक व्यापार: निर्यात ६२ प्रतिशतले उक्लिँदा आयात ३२ प्रतिशत बढ्यो

दुई महिनामै पौने ५ खर्बको वैदेशिक व्यापार: निर्यात ६२ प्रतिशतले उक्लिँदा आयात ३२ प्रतिशत बढ्यो

बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • images

    काठमाडौँ । चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै नेपालको वैदेशिक व्यापारले गति लिएको छ।

    साउन र भदौमा आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि हुँदा कुल वैदेशिक व्यापार करिब पौने ५ खर्ब रुपैयाँ पुगेको छ।
    तर, निर्यातको तुलनामा आयातको आकार ठूलो रहेकाले व्यापार घाटा पनि थप विस्तार भएको छ।

    भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको कुल वैदेशिक व्यापार ३५.६४ प्रतिशतले बढेर ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ।

    गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार करिब ३ खर्ब ५२ अर्ब रुपैयाँमा सीमित थियो। वैदेशिक व्यापारको वृद्धिमा यसपटक 
    आयातभन्दा निर्यातको वृद्धिदर निकै उच्च देखिएको छ। दुई महिनामा नेपालको निर्यात ६१.८६ प्रतिशतले बढेको छ। 

    गत वर्ष साउन-भदौमा ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु निर्यात भएकोमा यस वर्ष बढेर ७६ अर्ब ५८ करोड रुपैयाँ पुगेको हो। 

    निर्यातको हिस्सा पनि कुल व्यापारमा बढेको छ। गत वर्ष पहिलो दुई महिनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३. ४२ प्रतिशत रहेकोमा यस वर्ष १६.०२ प्रतिशत पुगेको छ।

    वनस्पति घिउ, तेलजन्य वस्तु, चिया, कफी, मसला तथा हस्तकलाका वस्तुको निर्यातमा आएको वृद्धिले समग्र निर्यात बढाउन योगदान गरेको छ। 

    तर, निर्यातमा आएको यो विस्तारले आयातको ठूलो आकारलाई भने चुनौती दिन सकेको छैन। 


    समीक्षा अवधिमा आयात ३१.५८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। आयात बढ्दा त्यसको प्रत्यक्ष प्रभाव व्यापार घाटामा परेको छ। 

    दुई महिनामा मुलुकले ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २६.२ प्रतिशत बढी हो। गत वर्ष यस्तो घाटा २ खर्ब ५७ अर्ब रुपैयाँ थियो। 

    वीरगन्ज नाकाको दबदबा 

    नेपालको वैदेशिक व्यापारमा भन्सार नाकाहरूबीचको असमान हिस्सा पनि कायमै देखिएको छ।  कुल आयातमध्ये करिब ४९ प्रतिशत र निर्यातमध्ये करिब ४४ प्रतिशत कारोबार वीरगन्ज नाकाबाट भएको छ। 

    भैरहवा र विराटनगर पनि मुलुकका प्रमुख व्यापारिक नाकाका रूपमा रहेका छन्। व्यापारको ठूलो हिस्सा सीमित नाकामा केन्द्रित हुँदा ती नाकाको पूर्वाधार, यातायात र भन्सार व्यवस्थापनले समग्र वैदेशिक व्यापारको लागत तथा सहजतामा समेत प्रभाव पार्ने देखिन्छ। 

    सुरुवाती दुई महिनाको तथ्यांकले नेपालको निर्यात क्षमता विस्तार हुन थालेको संकेत गरे पनि आयातमा आधारित व्यापार संरचना तत्कालै बदलिएको देखिँदैन।

     निर्यातको वृद्धिदर उच्च भए पनि आयातको रकम चार खर्ब नाघेकाले व्यापार घाटाको दबाब कायमै छ। 

    अब निर्यात बढेको गति कायम राख्दै स्वदेशी उत्पादन र प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न सक्ने वा नसक्ने विषयले आगामी महिनाको व्यापार सन्तुलन निर्धारण गर्नेछ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend