काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयमा मात्र २५ जना कार्यरत छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार, विज्ञ तथा स्वकीय सचिवालयमा गरी २५ जना कार्यरत छन्। तीमध्ये दुई जना अवैतनिक छन्। बाँकी २३ जनाले तोकिएको पद वा तहअनुसार पारिश्रमिक तथा सुविधा पाउनेछन्।
चालू आर्थिक वर्ष २०८३/८४ का लागि साउन १ देखि लागू भएको नयाँ तलबमानलाई आधार बनाएर हिसाब गर्दा सरकारी तहसरहको पारिश्रमिकमा सुरु तलब, १० प्रतिशत प्रोत्साहन भत्ता र ५ हजार रुपैयाँ महँगी भत्ता जोडिएको छ। राजपत्रांकित विशिष्ट श्रेणीको सुरु तलब ७९ हजार २९०, प्रथम श्रेणीको ६२ हजार ४६६, द्वितीयको ५३ हजार ६११ र तृतीयको ४८ हजार ५८ रुपैयाँ कायम गरिएको छ।
नयाँ तलबमानलाई आधार मानेर सचिवालयमा रहेका पदाधिकारीको पारिश्रमिक हिसाब गर्दा मासिक खर्च १४ लाख ७६ हजार ५०४ रुपैयाँ पुग्छ। यसलाई १२ महिनामा हिसाब गर्दा वार्षिक १ करोड ७७ लाख १८ हजार ५० रुपैयाँ खर्च हुन्छ।
यो हिसाबमा गाडी, इन्धन, चालक, भ्रमण, टेलिफोन, खाजा, मसलन्द, आवास तथा अन्य सेवासुविधाको खर्च जोडिएको छैन। चाडपर्वको पेश्की पनि यसमा समावेश छैन। त्यसैले सचिवालय सञ्चालनमा राज्यको वास्तविक वार्षिक खर्च योभन्दा बढी हुन्छ।
मन्त्रीसरहका तीनमध्ये दुई जना अवैतनिक
प्रधानमन्त्रीको सचिवालयमा कुमार ब्यञ्जनकार मुख्य राजनीतिक सल्लाहकार र असिम शाह राजनीतिक सल्लाहकार छन्।
दुवैलाई मन्त्रीसरहको श्रेणी दिइएको छ। तर ब्यञ्जनकार अवैतनिक भएकाले उनको पारिश्रमिक हिसाबमा समावेश गरिएको छैन।
त्यस्तै प्राडा जगदिशप्रसाद अग्रवाल अवैतनिक स्वास्थ्य सल्लाहकार हुन्। उनलाई पनि मन्त्रीसरहको श्रेणी दिइएको छ। त्यसैले मन्त्रीसरह पारिश्रमिक पाउनेमध्ये असिम शाहको मात्र पारिश्रमिक हिसाबमा समेटिएको छ।
सुदिप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार हुन्। उनीहरूलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ। दुवैको मासिक पारिश्रमिक ७५ हजार ३० रुपैयाँका दरले दुई जनाका लागि १ लाख ५० हजार ६० रुपैयाँ हुन्छ।
स्वकीय सचिवालयमा मात्रै करिब १२ लाख
सचिवालयमा प्रमुख स्वकीय सचिव सुवाष शर्मा राप विशिष्टसरह छन्। उनको सुरु तलब ७९ हजार २९० मा १० प्रतिशत प्रोत्साहन भत्ता र ५ हजार महँगी भत्ता जोड्दा मासिक ९२ हजार २१९ रुपैयाँ हुन्छ।
नविन भण्डारी, सञ्जिव पाण्डे, दिपा दाहाल, सन्तोष गिरी र विश्व राई राप प्रथमसरह छन्। उनीहरूको मासिक पारिश्रमिक करिब ७३ हजार ७१३ रुपैयाँका दरले पाँच जनाका लागि ३ लाख ६८ हजार ५६३ रुपैयाँ हुन्छ।
प्रकृति ढकाल, विशाल अधिकारी, विनय शाक्य, सुमन गौतम र रवि किरण अधिकारी राप द्वितीयसरह छन्। पाँच जनाको मासिक पारिश्रमिक करिब ३ लाख २० हजार रुपैयाँ हुन्छ।
त्यस्तै सुरेन्द्र बजगाई, रोशन तामाङ, बेदानन्द जोशी र हेम नारायणदास चौधरी राप तृतीयसरह छन्। चार जनाको मासिक पारिश्रमिक करिब २ लाख ३१ हजार रुपैयाँ हुन्छ।
अनुप थापा मगर, ऋषि थापा, राजकुमार गौतम, अमृत पाण्डे र बेनिस कार्की राप अनंकित प्रथमसरह छन्। पाँच जनाका लागि मासिक करिब २ लाख ३५ हजार रुपैयाँ खर्च हुन्छ।



