काठमाडौं । नेपालका व्यवसायले अब विश्वभर रहेका एप्पल पे र गुगल पे प्रयोगकर्ताबाट आफ्नो ईकमर्स प्लेटफर्ममार्फत भुक्तानी लिन सक्ने भएका छन्।
एनआईसी एशिया बैंकले ईकमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्ट ग्राहकका लागि एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्न सकिने सुविधा सुरु गरेको हो। बैंकका अनुसार नेपालमा पहिलो पटक यस्तो सुविधा उपलब्ध गराइएको हो।
बैंकको साइबरसोर्स पेमेन्ट गेटवेमा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यावसायिक ग्राहकले विदेशमा रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत भुक्तानी लिन सक्नेछन्।
यो सुविधाले विशेषगरी अन्तर्राष्ट्रिय ग्राहकसँग कारोबार गर्ने नेपाली व्यवसायलाई लक्षित गरेको बैंकले जनाएको छ। होटल, टुर्स एन्ड ट्राभल्स, एयरलाइन्स, ह्यान्डीक्राफ्ट, ई–कमर्स तथा आईटी क्षेत्रका व्यवसायले यसको उपयोग गर्न सक्नेछन्।
एप्पल पे र गुगल पे मोबाइलमा आधारित अन्तर्राष्ट्रिय भुक्तानी माध्यम हुन्। यी माध्यममा ग्राहकले भौतिक कार्ड प्रयोग नगरी आफ्नो कार्डको विवरण मोबाइलमा टोकनाइज गरेर भुक्तानी गर्न सक्छन्। यसबाट अन्तर्राष्ट्रिय ग्राहकले नेपालका व्यवसायलाई भुक्तानी गर्दा कार्ड विवरण प्रविष्ट गर्ने वा भौतिक कार्ड प्रयोग गर्ने झन्झट कम हुनेछ।
बैंकका अनुसार नयाँ सुविधाले पर्यटन तथा आतिथ्य क्षेत्र, यात्रा व्यवसाय, ई–कमर्स, आईटी सेवा तथा सामान निर्यात गर्ने व्यवसायलाई अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्न थप सहज बनाउनेछ।
विशेषगरी विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय ग्राहकले आफूले नियमित प्रयोग गर्दै आएको एप्पल पे वा गुगल पेबाटै नेपालका व्यवसायलाई भुक्तानी गर्न सक्ने भएकाले नेपाली व्यवसायको अन्तर्राष्ट्रिय कारोबार विस्तारमा सहयोग पुग्ने बैंकको अपेक्षा छ। यसबाट विदेशी मुद्रा आर्जनको सम्भावनालाई समेत थप सहयोग पुग्ने बैंकले जनाएको छ।
नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले डिजिटल भुक्तानीलाई थप सहज, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा परिचित माध्यमसँग जोड्ने बैंकको विश्वास छ। यसले नेपाली व्यवसायको कारोबार विस्तारसँगै पर्यटन प्रवर्द्धन र अन्तरदेशीय भुक्तानी प्रणालीमा समेत नयाँ आयाम थप्ने बैंकले जनाएको छ।


