रसुवागढी नाका कहिले खुल्छ? स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सुरु

रसुवागढी नाका कहिले खुल्छ? स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सुरु

ट्याक्स खबर
शुक्रवार, आश्विन २३ २०८३
ट्याक्स खबर
शुक्रवार, आश्विन २३ २०८३
  • images

    काठमाडौं। बाढीका कारण अवरुद्ध रसुवागढी नाका जोड्ने सडक कहिले सञ्चालनमा आउँछ भन्ने अन्योलबीच सरकारले स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सुरु गरेको छ। सडक सञ्चालनका लागि निर्णायक मानिएको पुल निर्माणको काम अघि बढेपछि रसुवागढीसम्मको सडक सम्पर्क पुनःस्थापित हुने बाटो खुलेको छ।

    पूर्वाधार विकास मन्त्रालयका अनुसार स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण गर्न नदीको दुवैतर्फबाट काम अघि बढाइएको छ। पुल जडानका लागि आवश्यक एक्सेस रोड निर्माण सुरु भइसकेको छ भने फाउन्डेसन तयार पार्न दुई वटा स्काभेटर परिचालन गरिएको छ।

    पुलको फाउन्डेसनका लागि १४ मिटर क्षेत्रको जग तयार पार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ। नदीको दुवैतर्फ उपकरण परिचालन गरी अस्थायी ट्रयाक खोल्ने कामसमेत सँगसँगै अघि बढाइएको छ।

    स्याफ्रुबेसीको बेलिब्रिज निर्माण सम्पन्न भएपछि मात्रै रसुवागढीसम्मको सडक सञ्जाल पूर्ण रूपमा जोडिने अवस्था रहेको मन्त्रालयको भनाइ छ। त्यसैले रसुवागढी नाका सञ्चालनको समय अब स्याफ्रुबेसीको बेलिब्रिज निर्माणको गतिसँग जोडिएको छ।

    यसअघि बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण रसुवागढी जाने सडक अवरुद्ध भएको थियो। चीनसँगको उत्तरी व्यापारिक नाकासम्मको सडक सम्पर्क अवरुद्ध हुँदा मालवाहक तथा यात्रुवाहक आवागमन प्रभावित हुँदै आएको छ।

    मन्त्रालयका अनुसार वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। वेत्रावतीको काम अन्तिमतिर पुगेपछि स्याफ्रुबेसीमा पनि पुल निर्माणलाई तीव्रता दिइएको हो।

    यद्यपि, मन्त्रालयले स्याफ्रुबेसीको बेलिब्रिज ठ्याक्कै कुन मितिसम्म निर्माण सम्पन्न हुन्छ र रसुवागढी नाका कहिलेदेखि नियमित रूपमा सञ्चालनमा आउँछ भन्ने समयसीमा सार्वजनिक गरेको छैन। अहिले भइरहेको कामले सडक सम्पर्क पुनःस्थापनाको प्रक्रिया अघि बढेको संकेत गरे पनि नाका खुल्ने निश्चित मिति भने पुल निर्माण सम्पन्न भएपछि मात्रै स्पष्ट हुने देखिन्छ।

    स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने र त्यससँगै उत्तरी सीमा नाकासम्मको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend