१५ प्रतिशत वा बढी शेयर बेच्दा ५ कारोबार दिनअघि जानकारी दिनुपर्ने, धितोपत्र बोर्डले फेर्‍यो नियम

१५ प्रतिशत वा बढी शेयर बेच्दा ५ कारोबार दिनअघि जानकारी दिनुपर्ने, धितोपत्र बोर्डले फेर्‍यो नियम

शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • images

    काठमाडौं। नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्दा पालना गर्नुपर्ने व्यवस्थामा संशोधन गरेको छ। संशोधित व्यवस्थाअनुसार अब कम्पनीको आईपीओका बेला कायम रहेका आधारभूत शेयरधनीले आफ्नो १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि पाँच कारोबार दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्नेछ।

    बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै असोज २३ गते परिपत्र जारी गरी यसअघि भदौ ९ गते जारी गरिएको निर्देशनमा संशोधन तथा थप व्यवस्था गरेको हो।

    धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ अनुसार लकइन अवधि समाप्त भएपछि शेयर बिक्री गर्ने आधारभूत शेयरधनीका लागि नयाँ व्यवस्था लागू हुनेछ। यसअघि पाँच प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने र उक्त सूचना नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था थियो।

    बोर्डले उक्त व्यवस्थामा संशोधन गर्दै १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि पाँच कारोबार दिन अगावै जानकारी दिए पुग्ने व्यवस्था गरेको हो। यससँगै शेयर बिक्रीको परिमाण र पूर्वजानकारी दिनुपर्ने समयसीमासम्बन्धी प्रावधान परिवर्तन भएको छ।

    संशोधित व्यवस्थाअनुसार आधारभूत शेयरधनीबाट शेयर बिक्रीको आशयसम्बन्धी सूचना प्राप्त भएपछि सम्बन्धित सूचीकृत कम्पनीले यथाशीघ्र नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गर्नुपर्नेछ। यस्तो सूचनाको वैधता तीन महिनासम्म कायम रहने व्यवस्था गरिएको छ।

    शेयर बेच्ने सूचना दिएपछि पुनः किने जानकारी दिनुपर्ने

    धितोपत्र बोर्डले आधारभूत शेयरधनीले शेयर बिक्रीको आशय सार्वजनिक गरिसकेपछि पुनः सोही कम्पनीको शेयर खरिद गर्ने अवस्थालाई समेत सम्बोधन गरेको छ।

    निर्देशनमा थप गरिएको व्यवस्थाअनुसार शेयर बिक्री गर्ने आशयले सूचना प्रवाह गरेका आधारभूत शेयरधनीले तोकिएको शेयर बिक्री नगरेको वा पूर्ण रूपमा बिक्री गरिनसकेको अवस्थामा पुनः सोही कम्पनीको शेयर खरिद गरेमा कारोबार सम्पन्न भएपछि यथाशीघ्र त्यसको जानकारी दिनुपर्नेछ।

    त्यस्ता शेयरधनीले खरिद गरेको शेयरको मूल्य र परिमाणसहितको विवरण सम्बन्धित सूचीकृत कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ। कम्पनीले उक्त विवरण नेप्सेमार्फत यथाशीघ्र सार्वजनिक गर्ने व्यवस्था मिलाउनुपर्ने बोर्डले जनाएको छ।

    यस व्यवस्थाले शेयर बिक्रीको आशय सार्वजनिक गरेका आधारभूत शेयरधनीले पछि सोही कम्पनीको शेयर खरिद गरेमा त्यससम्बन्धी जानकारी पनि बजारमा सार्वजनिक गर्नुपर्ने सुनिश्चित गरेको छ।

    बोर्डको संशोधनले आधारभूत शेयरधनीको शेयर खरिदबिक्रीसम्बन्धी सूचना सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित गरेको छ। विशेषगरी ठूलो परिमाणमा शेयर बिक्री गर्ने योजना, बिक्रीसम्बन्धी सूचनाको वैधता तथा सूचना दिएपछि पुनः शेयर खरिद गर्दा विवरण सार्वजनिक गर्नुपर्ने विषयलाई संशोधित निर्देशनले समेटेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend