१३०० भन्दा बढी कर्मचारीलाई तालिम दिँदै आन्तरिक राजस्व विभाग

१३०० भन्दा बढी कर्मचारीलाई तालिम दिँदै आन्तरिक राजस्व विभाग

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • images

    काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रशासन सुधारका लागि कर्मचारीको क्षमता विकास, संस्थागत सत्यनिष्ठा र जवाफदेहितालाई कार्ययोजनामा समेटेको छ। विभागले आफू र मातहतका कार्यालयमा कार्यरत १ हजार ३०० भन्दा बढी कर्मचारीलाई सदाचार, उत्तरदायित्व र जवाफदेहितासम्बन्धी तालिम दिने योजना बनाएको छ।

    विभागको कर सुधारसम्बन्धी २८ बुँदे रूपान्तरण कार्ययोजनामा कर्मचारीलाई Integrity, Ethics, Accountability and Responsibility सम्बन्धी तालिम दिने उल्लेख छ। यसका लागि पाठ्यक्रम तयार गर्ने, विज्ञ छनोट गर्ने र कार्यालयको सेवा प्रवाहमा असर नपर्ने गरी तालिम सञ्चालन गर्ने योजना छ।

    कर नीति विश्लेषण, अनुसन्धान तथा कर लेखापरीक्षणमा प्रविधिको प्रयोग बढाउन कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा एनालिटिक्ससम्बन्धी ६ वटा तालिम सञ्चालन गर्ने योजना पनि कार्ययोजनामा समेटिएको छ।

    यसअन्तर्गत Risk Based AI Data Analytics सम्बन्धी पाठ्यक्रम तयार गर्ने, विज्ञ छनोट गर्ने र विभाग तथा मातहतका कार्यालयका कर्मचारीलाई तालिम दिने योजना छ। जोखिमका आधारमा करसम्बन्धी विवरण विश्लेषण गर्न र अनुसन्धानका लागि आवश्यक क्षेत्र पहिचान गर्न यस्तो तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।

    नयाँ सूचना व्यवस्थापन प्रणाली सञ्चालनका लागि पनि कर्मचारीलाई तालिम दिइनेछ। कार्ययोजनामा ATR, IT ATR, Risk Based AI Data Analytics, आर्थिक विवरण तथा केन्द्रीय बिजक अनुगमन प्रणालीलगायतका विषयमा कर्मचारीको क्षमता विकास गर्ने उल्लेख छ।

    कर्मचारीको तालिमसँगै विभागले संस्थागत सत्यनिष्ठाको मूल्याङ्कन गर्ने प्रणाली पनि विकास गर्ने योजना बनाएको छ। विभाग र आन्तरिक राजस्व कार्यालयहरूको संस्थागत Integrity Assessment Index तयार गर्ने कार्ययोजनामा उल्लेख छ।

    त्यस्तै, विभागलाई ISO Standard अनुसार व्यवस्थित गर्ने, तेस्रो पक्षबाट मूल्याङ्कन गराउने तथा कानुनी र प्रक्रियागत अनुपालनमा सुधार गर्ने लक्ष्य राखिएको छ। निर्णय प्रक्रियामा पारदर्शिता बढाउने र कुन निर्णय कसरी भएको हो भन्ने अभिलेख पहिचान गर्न सकिने व्यवस्था अर्थात् traceability सुधार गर्ने विषय पनि कार्ययोजनामा समेटिएको छ।

    यी कार्यक्रममार्फत विभागले कर्मचारीको कार्यक्षमता, संस्थागत जवाफदेहिता र कर प्रशासनको काम गर्ने प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend